तपाईँ सुन्दै हुनुहुन्छः

कान्ति तालमा हिउँदे आगन्तुक चरा बढ्दै

नेपालगञ्ज  । नेपालगञ्जको कान्ति तालमा हिउँदे आगन्तुक चरा बढ्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा रहेको तालमा हरेक वर्ष हिउँदमा युरोप, मध्य एसिया लगायत देशबाट हिउँदे जलचर चराहरू बसाइँ सरेर आउँछन् ।

विगत तीन वर्षदेखि हिउँदमा आश्रित चराको गणना गरिँदै आएको छ । करिब २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा यस वर्ष हिउँदे आगन्तुक चराको सङ्ख्या बढेको हो । हिउँदमा बसाइँ सरेर विभिन्न देशबाट आउने आगन्तुक चराको सङ्ख्या बढी देखिएको पंक्षीविद् राम शाहीले बताउनुभयो ।

चरा गणनाका लागि पंक्षीविद् शाहीसहितको टोली बाँकेमा केही दिन खटिएको थियो । गणनाका क्रममा कान्ति तालमा पुगेको उक्त टोलीले हिउँदे आगन्तुक चराको अवस्था पत्ता लगाएको हो ।गणनाका लागि स्थलगतरूपमा खटिएका फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसनका आशिष चौधरीका अनुसार कान्ति तालमा यस वर्ष २० प्रजातिका हिउँदे आगन्तुक चरा फेला परेका छन् । उहाँका अनुसार गत वर्ष १८ प्रजातिका चरा फेला परेका थिए ।

ताललाई संरक्षित सारश, फिसिङ क्याट लगायत चराले पनि बासस्थान बनाएका छन् । हिउँदे आगन्तुक चराको बढ्दो सङ्ख्या हेर्दा कान्ति ताललाई सिमसार क्षेत्रका रूपमा अझ बढी संरक्षण गर्नुपर्ने देखिएको संरक्षणकर्मी बताउँछन् ।

बाँकेमा यस वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा फेला परेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button