तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा शहीद स्मारक निर्माण

रुपन्देही । रुपन्देही जिल्लाको सशस्त्र प्रहरी बल नेपाल न- २७ गण हे.क्वा रुपन्देहीले सीमा क्षेत्रमा सहिद स्मारक र पिउने पानीको धारा निर्माण गरेको छ । पिउने पानी धारा र शहीद स्मारकको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरले उद्घाटन गर्नुभएको हो ।

क्वीक इम्प्याक्ट प्रोजेक्ट (क्यूआईटी) अन्तर्गत पिउने पानीको धारा जडान गरिएको  उपरीक्षक थापा मगरले बताउनुभयो । ‘सीमा क्षेत्रमा आउजाउ गर्ने नागरिक तथा पर्यटकलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले  धारा निर्माण गरिएको हो’उहाँले भन्नुभयो– सशस्त्र प्रहरीको यो सानो प्रयास हो, क्रमशः यस्ता गतिविधि बढाउँदै जानेछौँ ।’ उनका अनुसार क्यूआईटी सशस्त्र प्रहरी बलको प्रभावकारी योजना हो । सडक विभाग, स्थानीय तह, आम नागरिक लगायतसँग समन्वय र सहकार्य गर्दै कार्यक्रमहरू सञ्चालन गरिएको उनले बताउनुभयो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर -१ डण्डास्थित पर्यटकीय गेट नजिकै सशस्त्र प्रहरीले पिउने पानी धारा निर्माण गरेको हो । 

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी डण्डा), रुपन्देही अगाडि शहीद स्मारकको निर्माण गरिएको छ । जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण हेतु कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका सशस्त्र प्रहरीको सम्झनामा शहीद स्मारक निर्माण गरिएको एसपी थापामगरले बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षकद्वय (डिएसपी) मोहन न्यौपाने , चन्द्र कुमार थापा, सिद्धार्थ नगरपालिकाका जनप्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न कार्यक्रम गर्दै रुपन्देहीमा २४ औँ सशस्त्र प्रहरी दिवस मनाइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button