हेर्ने कथाका ‘प्रकाश तामाङ’ का लागि बनेको घर र जग्गाको पुर्जा हस्तान्तरण
भोजपुर । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ नामक कार्यक्रमबाट परिवारको सम्पर्कमा आउनु भएका भोजपुरका प्रकाश तामाङलाई घर तथा निःशुल्क उपलब्ध गराइएको जग्गाको धनीपुर्जा हस्तान्तरण गरिएको छ । प्रकाशका लागि करिब साढे १७ लाख बरावरको लागतमा घर निर्माण गरिएको हो ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्क नेम्वाङको प्रमुख आतिथ्यता तथा संघीय सांसद तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदन किरातीको अध्यक्षतामा सोमवार कार्यक्रमको आयोजना गर्दे जातीय पहिरन पहिराएर प्रकाशलाई घरको चाबी तथा जग्गाको धनीपुर्जा हस्तान्तरण गरिएको छ । भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १०, साम्पाङमा प्रकाशका लागि घर निर्माण गरिएको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष नेम्वाङले घरको चाबी र जग्गादाता भूतपूर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईले प्रकाशलाई जग्गाधनी पुर्जा हस्तान्तरण गर्नुभयो ।
पूर्वमन्त्री समेत रहनु भएका संघीय सांसद किरातीको संयोजकत्वमा बनेको टिम मार्फत श्रमदान मार्फत घर निर्माण भएको हो । घरको छानाको जस्ताको लागि एभरेष्ट बैकले एक लाख ५० हजार सहयोग गरेको थियो भने ह्वासिन सिमेन्टले एक सय ५० बोरा सिमेन्ट उपलब्ध गराएको थियो । प्रकाशको घर निर्माणका लागि भूतपूर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईले आफ्नो पुर्ख्यौली जग्गा घर निर्माणका लागि उपलब्ध गराउनु भएको थियो ।
उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिएको हो । संघीय सांसद किरातीको संयोजकत्वमा बनेको टिमले पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउँदै घर निर्माण गरेको थियो । गत भाद्र १९ गते प्रकाशका लागि घर शिलान्यास गरिएको थियो । करिब ३५ वर्ष हराएका प्रकाश युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ नामक कार्यक्रमबाट षडानन्द नगरपालिका वडा नम्बर १०, साङपाङको छाप्लेगाउँमा बस्दै आउनु भएका बाबु आमाको सम्पर्कमा आउनु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्