तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा तीन हजार आठ सय बढी छात्रालाई एचपीभी खोप दिइँदै

मुगु। मुगु जिल्लामा पाठेघर मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने भएको छ। जिल्लाका चार स्थानीय तह—छायाँनाथ रारा, सोरु, खत्याड र कार्मारोङ गाउँपालिकामा यो खोप अभियान लागू हुनेछ।

अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका ३,८८५ जना छात्रा लक्षित गरी एचपीभी खोप दिइने जनाइएको छ। जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक डा. निर्मल नगरकोटीका अनुसार, खोप कार्यक्रम सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा सञ्चालन हुनेछ।

यो खोप कक्षा ६ देखि १० सम्मका विद्यालयका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका बालिकालाई दिइने छ। खोप पूर्ण रूपमा प्रभावकारी रहेको र पाठेघर मुखको क्यान्सरको जोखिमलाई कम गर्ने अपेक्षा गरिएको छ।

मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले सबै सरोकारवालालाई अभियानमा सहकार्य गर्न र प्रचार प्रसारमा सहयोग पुर्याउन आग्रह गर्नुभएको छ। यसैगरी, अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले विद्यालय, अभिभावक र स्थानीय समुदायलाई सक्रिय सहभागिताको लागि अपिल गर्नुभयो।

यो एचपीभी खोप अभियान मुगुमा पहिलोपटक सञ्चालन हुँदैछ र यसले बालिका स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम कम गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button