स्वदेशी वस्तुको प्रयोगसम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकाय प्रमुखहरूसँग छलफल
काठमाडौँ । सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी सबै मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरिएको छ ।
उद्योग मन्त्रालयमा भएको छलफलमा मन्त्री दामोदर भण्डारीले स्वदेशमै उत्पादित कच्चा पदार्थबाट निर्मित वस्तुहरूको उच्चतम प्रयोग गर्नुपर्ने विषयमा जोड दिनुभयो । निर्देशिकालाई सबै सार्वजनिक निकायले पूर्ण रूपले पालना गर्नुपर्ने बताउँदै उहाँले स्वदेशी वस्तुको उपयोगले स्वदेशी उत्पादन वृद्धि हुने, स्वदेशमै रोजगारी सृजना हुने, गरिबी निवारण हुने र देशको आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले पर्याप्त उत्पादनले स्वदेशी बजार धान्नुका साथै उत्पादित सामग्री विदेश निर्यात गरी विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक अवस्था मजबुत बन्ने बताउनुभयो ।
मन्त्रालयका वाणिज्य सचिव गोविन्द बहादुर कार्कीले सबै निकायका प्रमुखहरूले स्वदेशी वस्तुको प्रयोगका लागि मानसिक रूपमै तयार हुनुपर्ने बताउनुभयो ।
उद्योग सचिव कृष्ण बहादुर राउतले सबै मन्त्रालय र मातहतका निकायलाई स्वदेशी वस्तुहरू प्रयोग निर्देशिका कार्यान्वयनमा सहजीकरणको लागि आग्रह गर्नुभयो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीले अहिले ७० वस्तुहरूले नेपाल गुणस्तर प्राप्त गरिसकेको अवस्थामा उक्त वस्तुहरू प्रयोग गर्न सकिने र अरू पनि आवश्यक वस्तुहरूको गुणस्तर प्रमाणीकरण गर्न विभाग तयार रहेको बताउनुभयो ।
छलफलमा सहभागी अन्य मन्त्रालयका प्रतिनिधि, विभागीय प्रमुख तथा सुरक्षा निकाय प्रमुखहरूले स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयनमा केही चुनौती भए तापनि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्