तपाईँ सुन्दै हुनुहुन्छः

झौखेलमा राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई ३१ रोपनी जग्गा

भक्तपुर । चाँगुनारायण नगरपालिकाको झौखेलमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र छिटो बनाउन वडाध्यक्षसहित स्थानीयले माग गरेका छन् ।

लामो समयदेखि ‘जग्गाको अभाव’ले दुधपाटीमा सानो ठाउँबाट सञ्चालन भइरहेको केन्द्रलाई ३१ रोपनी जग्गा उपलब्ध गराइएको भन्दै भवन निर्माण गर्न उनीहरूले माग गरेका हुन् ।

अभावलाई बहाना मात्र बनाएको पाइएको भन्दे चाँगुनारायण नगरपालिकाको ३ नं वडाका वडाध्यक्ष श्याम सुन्दर धिमालले अस्पतालकै नाममा जग्गा हुँदै गर्दा पनि भवन निर्माण गर्न आनाकानी भइरहेको बताउनुभयो । 

प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ झौखेलमा मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि चयन गरेको थियो । उक्त स्थान नै अस्पताल बनाउनका लागि भौगोलिक रुपमा योग्य ठहर भएपछि अस्पतालले २०७७ साल असोज २१ गते सो जग्गा प्राप्तिका लागि चाँगुनारायण नगरपालिकासँग माग गरेको थियो । नगरपालिका कार्यपालिकाले अस्पतालको माग बमोजिम असोज २५ गते नै उक्त जग्गा नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्राप्त गर्न सिफारिस गर्ने निर्णयसहित अस्पताललाई पत्राचारसमेत गरेको वडाध्यक्ष धिमालले जानकारी दिनुभयो । 

अस्पतालले त्यसको ३ दिन पछि  उक्त जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको थियो । अस्पताललाई जग्गाको आवश्यकता रहेको बुझेर स्वास्थ्य मन्त्रालयले कात्तिक ५ गते नै सचिवस्तरीय निर्णय गरेर माग गरिएको जग्गाका लागि अनुमतिसमेत दिइसकेको थियो । 

अस्पतालले त्यसलगत्तै लिजमा जग्गा उपलब्ध गराउनका लागि स्थानीय सिफारिस समितिबाट सिफारिस गरिपाउँ भनेर जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग माग गरेको थियो । उक्त मागका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको बैठकले वार्षिक न्यूनतम ३ लाख ३१ हजार ९८० रुपैयाँ राजस्व तिरेर ३१ रोपनी ७ आना जग्गा लिजमा उपलब्ध गराउन नेपाल सरकार भूमि व्यवस्था मन्त्रालयलाई सिफारिससमेत गरिसकेको थियो । 

मन्त्रालयले उक्त जग्गा अस्पताललाई उपलब्ध गराउन मंसिर १७ गते मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो । पछि २०७८ साल जेठ १३ गते बसेको मन्त्रिपरिषद् बैठकबाटै सो जग्गा अस्पताललाई उपलब्ध गराउने निर्णय भएपछि मालपोत कार्यालय र अस्पतालबीच जेठ १८ बाट नै जग्गा अस्पतालको नाममा लिजमा दिने सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

जग्गाधनी प्रमाणपत्र अस्पतालले आफ्नै नाममा लिएर पनि जग्गाको अभावलाई अस्पताल विस्तारको बाधाका रुपमा देखाइरहेको वडाध्यक्ष धिमालको भनाई  छ । जग्गा प्राप्त गरि प्रारम्भिक स्थलगत नापी कार्यसमेत सकेपछि अस्पताललाई निर्माण कार्य सुरु गर्नका लागि धेरै पटक अनुरोध गर्दा पनि बेवास्ता गरिरहेको उहाँको भनाइ छ । 

४०० शैयामा अस्पताललाई विस्तार गर्नका लागि भनी लिइएको जग्गामा आवश्यक सबै सहयोग आफूहरूले गर्ने प्रतिबद्धता गरेको र मानव अंग प्रत्यारोपण केन्द्रको नाममा उक्त जग्गा रहेका कारण त्यहाँ अन्य केही सञ्चालन गर्न नपाएको गुनासो वडा अध्यक्ष घिमालको रहेको छ । 

स्थानीय भागतराम गेलालले यो विषयलाई राजनीति गर्ने भाँडो नबनाउन र यथाशीघ्र केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

उता सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने सरकारले जग्गा उपलब्ध गराएको खण्डमा ६ महिनाभित्रैमा आफ्नै कमाइबाट अस्पतालको भवन निर्माण गर्ने दाबी गर्दै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button