तपाईँ सुन्दै हुनुहुन्छः

५१ हजार राशिको स्व. गोपाल गिरी स्मृति पत्रकारिता पुरस्कार श्रेष्ठलाई प्रदान

वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा स्थापित ५१ हजार राशिको स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशील पत्रकारिता पुरस्कार आज एक समारोहका बिच कान्तिपुर टेलिभिजनका स्थानीय संवाददाता पङ्कज श्रेष्ठलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ पर्साका पूर्व अध्यक्ष तथा वीरगञ्जका पूर्व नगर प्रमुख स्व. गिरीको स्मृतिमा स्थापित ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार आज एक कार्यक्रमका मधेस प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले श्रेष्ठलाई प्रदान गर्नुभएको हो ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश मन्त्री सिंहले पत्रकारिता क्षेत्रमा स्वर्गीय गिरीको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।

स्व. गिरी २०४७ सालमा पत्रकार महासङ्घ पर्सा शाखाको अध्यक्ष रहनुभएको थियो । तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको मनोनीत मेयर रहँदा २०६० साल माघ १ गते तत्कालीन माओवादीले गोपाल गिरीको हत्या गरेका थिए । गिरीको स्मृतिमा नेपाल पत्रकार महासङ्घ पर्साले स्व.गोपाल गिरीको परिवारसँगको सहकार्य गरी हरेक बर्ष माघ १ गते पुरस्कार प्रदान गर्दै आएको छ ।

पत्रकार महासङ्घ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा स्व.गिरीका सुपुत्र पत्रकार गिरिश गिरी, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button