जङ्गलसँग जोडिएको बस्तीका विपन्न परिवारको गुजारा खरको भरमा
वीरगञ्ज । जङ्गलको सीमासँग जोडिएको पर्साको जिराभवानी गाउँपालिकाका अति विपन्न परिवारले खर काटेर जीवन गुजारा गर्दै आएका छन् ।
जिराभवानी गाउँपालिकाका–५ मा रहेका हरैया तथा सखुवनियाका दलित तथा विपन्न समुदायका परिवारहरूले जङ्गलमा रहेका खर काटी बिक्री गरेका आम्दानी गरिरहेका छन् ।
अहिले जाडोको मौसममा काम नभएको समयमा जङ्गलको नर्सरीमा दैनिक खर काटी यहाँका करिब पचास भन्दा बढी दलित तथा विपन्न समुदायका परिवारहरूले आम्दानी गरी जीवन चलाइरहेका छन् ।
विशेष गरी मुसहर, चमार तथा थारु समुदायका गरिब परिवारहरूको यस कार्यमा सहभागिता रहेका छन् । जीराभवानी गाउँपालिका–५ हरैयाका असिया देवीले दैनिक ६/७ बोझा अर्थात् भारी खर काट्ने गरेको बताउनुभयो ।
खरको बोझालाई जङ्गल बाहिर राखेर सुकाउन र ६० रुपैयाँ प्रति बोझाको दरमा बिक्री गर्ने गरेको असिया देवीले बताउनुभयो । उनीहरूले काटेको खर जिल्लाका दक्षिणी भेगका बासिन्दाले खरिद गरी लैजाने गरेका छन् ।
हरैयाकै भोजराज रामका अनुसार खरकै भरले यहाँका दर्जनौँ परिवार गुजारा चलाइरहेका छन् । यो बेला ज्यालादारी काम पनि नभएकाले परिवारका सम्पूर्ण सदस्यहरु खर काट्ने काममा लागेका तथा सोको बिक्री गरी आएका रकमबाट अति आवश्यक बस्तुको आवश्यकता पूरा गरिरहेको रामले बताउनुभयो । खर काट्ने समयमा बिरुवालाई सुरक्षित राखेर काम गरेको रामको भनाई रहेको छ ।
सब डिभिजन बन कार्यालय वसन्तपुरका प्रमुख वन अधिकृत रघुनाथ दासका अनुसार खर काट्ने कामले बिरुवालाई फाइदा पुगेको बताउनुभयो । वृक्षारोपण गरेका बिरुवा खरले ढाकिएको हुँदा बिरुवाको वृद्धि र विकास नै रोकिएको हुन्छ । खर कटानीले बिरुवालाई फाइदा पुग्नुका साथै विपन्न परिवारलाई साहारा बनेको अधिकृत दासले दाबी गर्नुभयो ।
साथै खर ढलेपछि डढेलो लाग्ने जोखिम बढेका कारण खर काट्नु राम्रो रहेको अधिकृत दासले बताउनुभयो । खर काट्दा बिरुवालाई कुनै किसिमको क्षति नपुगोस् भनेर बेला बखतमा वनकर्मीहरूले निगरानी गरिरहेको दासले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्