बाघको आक्रमणबाट महिलाको मृत्यु
बाँके । बर्दियाको ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको बाघको आक्रमणबाट मृत्यु भएको छ। बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले थापालाई आक्रमण गरी जङ्गलभित्र पुर्याएको थियो।
घटनापछि स्थानीयवासी, प्रहरी, सेना, र निकुञ्जको टोली घटनास्थलमा पुगेका थिए। टोली पुगेपछि बाघ शवलाई छाडेर जङ्गलतर्फ भागेको बताइएको छ। यद्यपि, स्थानीयवासीले बाघ नियन्त्रण र उचित क्षतिपूर्तिको माग गर्दै मृतकको शव उठाउन अस्वीकार गरेका छन्।
बाघ नियन्त्रणका लागि प्राविधिक टोली खटाइएको छ। घटना सामुदायिक वन क्षेत्रमा भएकाले क्षतिपूर्ति दिने प्रक्रिया अझै अन्योलमा रहेको जनाइएको छ।
गएको साउनयता बर्दियामा हात्ती, गैँडा र पाटेबाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाइसकेका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख अजित तुम्बाहाम्फेका अनुसार यस क्षेत्रका वन्यजन्तु र मानवीय क्रियाकलापबिचको बढ्दो सङ्घर्षले जनजीवनलाई त्रसित बनाएको छ।
प्रतिक्रिया राख्नुहोस्