पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक सुरु
नेपालगञ्ज । पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक सुरु भएको छ । विगतको समीक्षा र आगामी वर्षको योजना बनाउँदै मनाइने माघी पर्वलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । थारुहरू पुसको अन्तिम सातादेखि माघको पहिलो सातासम्म माघी मनाउँछन् । पुसको अन्तिम साता तयारीमा जुट्छन् र पुसको अन्तिम दिनदेखि करिब एक साता धुमधामका साथ माघी मनाउँछन् ।
बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका थारु गाउँ यतिबेला माघीको तयारीमा जुटेका छन् । थारु गाउँहरूमा मादलको धुनसँगै ‘सखिए’को मधुर स्वर गुञ्जन थालेका छन् भने आफ्नो भेषभूषामा सजिएका थारु युवायुवतीहरू विभिन्न कार्यक्रम आयोजना गरी नाचगानमा व्यस्त छन् । माघीमा थारुहरू आफ्ना परम्परागत नृत्यहरू प्रस्तुत गरी रमाइलो गर्ने गर्छन् ।
मघौटा, झुम्रा, हुरडुङ्ग्वा, छोक्रा लगायतका नाच थारु समुदायका मौलिक नाच हुन् । तर, माघीमा भने मघौटा गीत गाउने र यसैमा युवायुवती नाच्ने गर्छन् । मघौटा नाचमा नाच्ने महिलाले उत्तानो परी आँखाको परेला र मुखबाट नगद उठाउने गर्दछन् । आधुनिकताको प्रभावले यी नाचहरू हराउँदै गएकोमा भने उनीहरूको चिन्ता छ ।
माघीमा समूहगत रुपमा वर्षभरिमा गरिने विकास निर्माण, विवाह, अंशबण्डा र सामाजिक कार्यको योजना बनाइने गरिन्छ । विगतमा माघीमै कमलरी राख्ने सम्झौता हुन्थ्यो । तर, सरकारले कमलरी मुक्त घोषणा गरेपछि भने कमलरी राख्ने चलन हराएको छ । माघीमा विगतको समीक्षा र आगामी वर्षको योजना बनाउनुका साथै घर मुलीबाट वर्षभरिको आय–व्यय विवरण प्रस्तुत गर्ने चलन छ ।
थारु समुदायको सबैभन्दा ठूलो र लामो यो पर्वमा बडघर छान्ने काम पनि माघीमै हुन्छ । गाउँलाई रेखदेख गर्ने, चौकीदार, कपाल काट्ने नाउ, गाउँका अगुवा, कुल पूजाका लागि चिराकिया, गुरुवा, ओरगानको चयन पनि माघीमै गरिन्छ । संयुक्त परिवारमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय माघीमै हुन्छ भने विवाहको लगन जुराउने उत्तम साइत पनि यसै बेला निकालिन्छ । त्यसैले पनि यो पर्वलाई थारु समुदायले उल्लासपूर्ण तरिकाले मनाउने गर्छन् ।
बाँकेका विभिन्न ठाउँमा पनि माघी महोत्सव तथा माघी मिलन कार्यक्रम आयोजना गरिएका छन् । बैजनाथमा दुई दिने तथा राप्तीसोनारीमा एक दिने माघ मिलन कार्यक्रम गरिएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरमा थारु कल्याण कारिणी सभा बाँकेले आज थारु सम्बत २६४८ को माघ मिलन कार्यक्रम गरेको छ ।
थारु कल्याण कारिणी सभा बाँकेकी अध्यक्ष सङ्गीता चौधरीको अध्यक्षतामा भएको माघ मिलन कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीले थारु परम्परा अनुसार भुईँमा जल र रक्सी चढाएर उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा माघीमा नाचिने विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा थारु कला एवम् संस्कृतिको संरक्षण र सम्बद्र्धनका साथै थारु समुदायको हक(अधिकार तथा समग्र समुदायको उत्थानका लागि योगदान गरेको भन्दै थुप्रै व्यक्तिहरूलाई सम्मान गरिएको छ । थारु कल्याण कारिणी सभा राप्तीसोनारीको सह आयोजनामा सम्पन्न माघ मिलन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँके शाखाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि थारु, लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, संविधानसभा सदस्य पट्टु थारु, नेपाली कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, एमाले बाँकेका सचिव बलराम भट्टराई, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, आदिवासी जनजाति महासङ्घ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा मगर, थारु कल्याण कारिणी सभा बाँकेका निवर्तमान अध्यक्ष विनोद कुमार थारु, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले मन्तव्य ब्यक्त गर्दै माघीको शुभकामना दिनुभएको थियो । थारु कल्याण कारिणी सभा बाँकेकी सचिव विष्णु चौधरी र सदस्य कालुराम चौधरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष उषा चौधरीले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्