तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटका उपप्रमुखद्वारा प्रस्ताव च्यातेर नगरसभा बहिष्कार

नवलपरासी पश्चिम् । बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले कार्यपालिकाको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै नगरसभा बैठक बहिष्कार गर्नु भएको छ । उपाध्यायले शुक्रबार १५ औँ नगरसभामा प्रस्तुत प्रस्तावहरू च्यातेर बैठक बहिष्कार गरेको स्वयंले पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको छ।

बर्दघाट नगर कार्यपालिकाको मङ्सिर २३ गतेको बैठकको निर्णयअनुसार बर्दघाट नगरपालिकाको पौष २६ गतेको कार्यपालिकामा ल्याइएको प्रस्तावमाथि आपत्ति जनाउँदै बहिष्कार गरेको बताइएको छ ।

चालु आ.ब. २०८१/०८२ को नीति ,कार्यक्रम तथा बजेटका शिर्षकान्तर र रकमान्तर सम्बन्धमा र विभिन्न समयका बैठकका निर्णय अनुमोदन रहने गरी आवाहन गरिएको १५ औँ नगरसभामा नगर सभाको निर्णय नं.४ मा आफूले कार्यपालिका बैठकमा फरक मत राखेको आफ्नै विरुद्धको निर्णय अनुमोदनका लागि पेशगरेको आरोप लगाउँदै नगर उपप्रमुख उपाध्यायले प्रस्तुत प्रस्तावहरू च्यातेर पत्रकार सम्मेलन गरेको बताउनु भयो ।

नगरप्रमुखले बहुमतको दम्भमा एकलौटी गरेको उपाध्यायको आरोप छ।२०८१ असोज २२ गतेको नगर कार्यपालिकाको बैठकमा बर्दघाट ट्रमा सेन्टरका विषयमा आफु लगायत अन्य कार्यपालिका सदस्यहरुले फरकमत राखेको निर्णयका विरुद्धमा गरिएको निर्णय अनुमोदन गराउने प्रस्ताव आए पनि त्यो बाहेकका सबै निर्णय नगर सभामा पेशगर्न र त्यस विषयमा पछि छलफल गर्नका लागि नगर प्रमुख शम्भुलाल श्रेष्ठसँग आग्रह गर्दा नमानेपछि आफूले नगर सभा बहिष्कार गरी पत्रकार सम्मेलन गर्नु परेको बताउनु भयो ।

बर्दघाट नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको ट्रमा सेन्टरका विषयमा विगतदेखि नै फरक मत राख्दै आउनु भएका उपाध्यायले ट्रमा सेन्टर शिलान्यासको दिन अनुपस्थित रही आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्नु भएको थियो ।ट्रमा सेन्टर शिलान्यासका बारेमा आफूलाई कुनै जानकारी न आएको र कुनै सूचना नगरिएको उपाध्यायको भनाई छ ।

सोही विषयलाई लिएर गौरवको आयोजना शिलान्यासकै दिन उपप्रमुख उपाध्यायले शिलान्यास कार्यक्रम बहिष्कार गरेको भन्दै कार्यपालिकामा खेद प्रस्ताव लगिएको थियो ।”आफ्नै विरुद्धमा आएको खेद प्रस्तावमा म कसरी हस्ताक्षर गरौँ अनि कागजात च्यातेर हिँडियो”उपाध्यायले भन्नू भयो । फरक मत राख्दैमा बिरोध वा असहयोग हो भन्ने नहुने उल्लेख गर्नु भयो।”त्यो प्रस्ताव बाहेक अरू विषयमा त मेरो सहमति नै छ अरू मुद्दामा छलफल गरौँ भन्दा मेयरसाब मान्नु भएन,विषय एउटा छ प्रसङ्ग अर्कोमा लगेर जोडिएको छ” अनि उठेर हिँड्नु बाहेक विकल्प रहेन”उपाध्यायले भन्नु भयो ।

यता यस विषयमा जानकारी लिँदा नगरप्रमुख शम्भुलाल श्रेष्ठले असन्तुष्टि जनाउने विधि र प्रक्रिया हुँदा हुँदै पनि उप प्रमुख असभ्य भएको र कार्यपालिकाको गरिमा भुलेर अभद्र शैलीमा प्रस्तुत भएको बताउनु भयो ।”उहाँलाई चित्त नबुझे नोट अफ डिसेन्ट लेख्न सकिन्छ प्रस्ताव नै च्यातेर अभद्रता देखाइयो,अर्को कुरा म एक्लैले ल्याएको प्रस्ताव पनि होइन सिङ्गो कार्यपालिका बहुमतले ल्याएको कुरा हो त्यसैले यो पदीय आचरण होइन गैर जिम्मेवारी हो”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

ट्रमा सेन्टर शिलान्यासमा उपप्रमुख जस्तो व्यक्तिले सूचना वा जानकारी नपाएको भन्नू हास्यास्पद रहेको र कसरी अवरोध गर्न सकिन्छ भन्ने मात्रै चिन्तन भएको नगरप्रमुख श्रेष्ठको आरोप छ ।”उहाँको ध्यान नै कसरी असफल बनाउने भन्ने छ,एउटा गौरवको आयोजना बर्दघाटमा आउँदा उहाँ लाई केको आपत्ति हो?हरेक कुरामा आपत्ति हरेक कुराको बिरोध त्यसैले यो बिरोधका लागि बिरोध बाहेक केही होइन”नगर प्रमुख श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button