तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज महानगरपालिकाको १६ औँ अधिवेशन सम्पन्न

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले सुन्दर, समुन्नत, समृद्ध र वैभवशाली वीरगन्ज निर्माण गर्ने लक्ष्यका साथ महानगरको टिम अगाडी बढेको बताउनुभएको छ ।

वीरगन्ज महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनको आज एक समारोहका बिच उद्घाटन गर्नुहुँदै नगरप्रमुख सिंहले नगरबासीको चाहनालाई सम्बोधन गर्न नगरसभाको १५ औँ अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक वर्षको संशोधित कार्यक्रम तयार पारिएको बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षका लागि नगर सभाले स्वीकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्ग निर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धवार्षिक समीक्षा गर्दै स्वीकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवश्यकता परेकोले बजेट रकमान्तरगण, स्रोतान्तरण तथा संशोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताउनुभयो ।

उहाँले बजेट कार्यान्वयनका लागि आर्थिक ऐन २०८१ मा संशोधन गर्न बनेको आर्थिक विधेयक विनियोजन ऐन २०८१ मा समावेश भएका आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक बजेट तथा कार्यक्रम रकमान्तरगण, स्रोतान्तरण, बजेट थपघट एवं योजना तथा कार्यक्रम परिमार्जन गरी संशोधन गर्न बनेको विनियोजन विधेयक २०८१, विज्ञापन कर सम्बन्धि विधेयक २०८१, वीरगन्ज महानगरपालिकाको सङ्गठन, संरचना तथा दरबन्दी परिमार्जन सम्बन्धी प्रस्ताव र सहकारी ऐन २०७४ मा संशोधन गर्न बनेको सहकारी विधेयक २०८१ नगरसभा समक्ष पेश गर्नुभएको थियो ।

नगरसभाको १६ औ अधिवेशनले नगरप्रमुखले पेश गर्नुभएको विधेयक तथा प्रस्तावहरू सर्वसम्मतले पारित गरेको थियो ।

सर्वसम्मत निर्णय भएसँगै सञ्चार कर्मीहरूसँग संक्षिप्त कुरागर्दै नगर प्रमुख सिंहले वैभव वीरगन्ज बनाउने अभियानमा वीरगन्जका जनप्रतिनिधि एकजुट भएको र आगामी दिनमा अझ जनताका समस्या समाधान गर्न आफूलाई थप ऊर्जा प्राप्त भएको बताउनुभयो ।

नगरसभाको १६ औँ अधिवेशनमा उप प्रमुख ईम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वीरगन्ज महानगरपालिकाका ३२ वडा का वडाध्यक्षहरू, वडा सदस्यहरु, महानगरपालिकाका बोर्ड सदस्यहरु, महानगरका कर्मचारीहरू, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button