तपाईँ सुन्दै हुनुहुन्छः

राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक तथा राजनीतिज्ञ व्यक्तिहरूको शालिक अनावरण गर्नुभएको छ । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले वडा नं. ५ कालिकास्थान वस्तु गुल्मीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी, पूर्व जिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्व गाविस अध्यक्ष टोमलाल पाण्डेको शालिक अनावरण गर्नुभएको हो ।

शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अग्रजहरूको योगदान र समर्पणले नै मुलुकमा परिवर्तन सम्भव भएको बताउनुभयो । दुःख कष्ट व्यहोरेर मुलुकमा परिवर्तन ल्याउन अग्रजहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको र प्रदेश सरकारले सधैँ सम्झिरहने धारणा राख्नुभयो । मुख्यमन्त्री आचार्य अग्रजले सिकाएका सकारात्मक पाठहरू सिक्दै समुन्नत समाज निर्माणको लागि नयाँ पुस्ताले योगदान गर्नुपर्ने बताउनुभयो ।

‘समाजमा राम्रो काम गर्ने व्यक्तिको सम्मान हुन जरुरी छ, कदर हुन जरुरी छ । भावी पुस्ताले पनि समाजमा राम्रो काम गर्नेहरूलाई सम्मान र कदर गर्नेछ’उहाँले भन्नुभयो,‘त्यसैले समाजमा राम्रो काम गर्नेहरुको सम्मान हुन जरुरी छ ।’ धुर्कोटको समग्र विकासका लागि अग्रजहरूले खेलेको भूमिका समाजले कहिल्यै भुल्न नसक्ने बताउनुभयो । विकट बस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य लगायत आधारभूत सेवा पुर्‍याउन अग्रजहरूले खेलेको भूमिकाले सम्भव भएको उहाँले उल्लेख गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा।डिल्लीराज अर्याल लगायत प्रदेश, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button