तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिक सांसदको गुनासो: हामीलाई कर्मचारीले बेवास्ता गरे

काठमाडाैँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिका सांसदहरुले समानुपातिक सांसदहरूलाई कर्मचारीहरूले बेवास्ता गरेको गुनासो गरेका छन् । 

समानुपातिक समावेशी सहभागिताका सम्बन्धमा छलफल गर्न समितिको आज बसेको बैठकमा समितिका सांसदहरु रोशन कार्की, कल्पना मिया कुसारी, शोभा ज्ञवाली,  लक्ष्मी तिवारीलगायतले आफ्ना क्षेत्रका काम लिएर जाँदा कर्मचारीले नटेर्ने, निर्वाचित सांसदहरु निर्वाचन केन्द्रबाट बाहिर नआउने र  राष्ट्रिय समस्याका साथै समसामयिक मुद्दा उठाउने समानुपातिक सांसदहरु विभेदमा परेको बताउनुभयो । 

समानुपातिक  व्यवस्थाले निर्वाचन खर्च बचत गर्ने हुँदा भ्रष्टाचार कम भई सुशासन कायम हुने भन्दै सांसदहरुले संसदमा प्रस्तुत भएका विधेयकमाथिको छलफलमा समानुपातिक सांसदहरुले नै बढी भाग लिने गरेको बताउनुभयो । 

प्रत्यक्ष निर्वाचनमा उमेद्वारहरु आफू जित्न मात्रै मत माग्ने र समानुपातिक उमेद्वारले पार्टीलाई मत ल्याउन विशेष भूमिका खेल्ने बताउँदै सांसदहरुले समानुपातिक सहभागिताको मान्यताले मूल धारबाट बाहिर रहेकालाई पहुँचमा पुर्‍याउन सहयोग गरेको बताउनुभयो । 

बैठकमा गृह सचिव गोकर्णमणि दवाडीले महिलाहरूलाई राज्यको माथिल्लो निकायमा  पुर्‍याउन समानुपातिक सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । 

बैठकमा संसदमा समानुपातिक सहभागिताका सम्बन्धका अध्येता सन्तोष शर्मा पौडेलले विधेयकहरूको संशोधन गर्नेमा प्रत्यक्ष निर्वाचित सांसदहरु नै सक्रिय रहेको, आर्थिक रूपले कमजोर भएकाहरू बढी समानुपातिक निर्वाचन प्रणालीमा सहभागिता रहेको पाइएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button