तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा शीतलहर प्रतिकार्यका लागि सरोकारवाला निकायलाई प्रभावकारी ढंगले परिचालन गरिने

नेपालगञ्ज । बाँकेमा चिसो तथा शीतलहर प्रतिकार्यका लागि जिम्मेवार निकाय र सरोकारवाला निकायलाई प्रभावकारी ढंगले परिचालन गरिने भएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको पूर्व तयारी तथा प्रतिकार्य योजना अनुसार जिम्मेवार निकाय, पदाधिकारी र सरोकारवालालाई प्रभावकारी ढंगले परिचालन गरिने भएको हो । 

जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा आज बसेको जिल्लामा क्रियाशील संघ संस्थासँगको समन्वय बैठकमा यस्तो निर्णय गरिएको हो । 

बैठकमा हाल चिसो तथा शीललहरको सम्भावना कायमै रहेकाले त्यसको पूर्व तयारी तथा प्रतिकार्यका लागि संघ संस्थाबाट हुने गतिविधिका बारेमा छलफल भएको छ । 

बैठकले आगामी माघ २ गते मनाइने २७औँ भूकम्प सुरक्षा दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । 

दिवसका अवसरमा माघ १ गतदेखि एक हप्ता एफएम रेडियोबाट भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्व तयारी सम्बन्धि जनचेतनामूलक सूचनाहरू र परिसंवाद कार्यक्रम प्रसारण गर्ने, सबै स्थानीय तहमा भूकम्प सुरक्षा र्‍याली, भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता सम्बन्धि अभिमुखीकरण तथा सामूहिक प्रतिबद्धता, जिल्लाभर भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिता सम्बन्धि सन्दर्भ सामग्री छपाई तथा वितरण, नेपालगञ्जमा माघ ४ गते भूकम्प सचेतना सम्बन्धि कृत्रिम घटना अभ्यास गरिने भएको छ । 

यसपटक ‘भूकम्पले सिकाएको पाठ: बलिया संरचना र सुदृढ पूर्व तयारीका साथ’भन्ने नाराका साथ २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदैछ । 

बैठकमा बाँकेमा क्रियाशील सङ्घसंस्थाको तर्फबाट जिल्लामा सञ्चालन भइरहेका संक्षिप्त गतिविधिहरूको प्रस्तुतीकरण समेत गरिएको थियो । 

प्रस्तुत गतिविधिहरूको समीक्षासहित आगामी दिनमा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयात्मक रुपमा कार्य गर्ने निर्णय पनि बैठकमा भएको छ । 

यस्तै विपद्का क्षेत्रमा भएका गतिविधि तथा कार्यक्रमबारे नियमितरुपमा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रमा प्रतिवेदन उपलब्ध गराउने, विपद व्यवस्थापन सम्बन्धि क्रियाकलापहरू प्रभावकारी बनाउन हरेक ६र६ महिनामा नियमित बैठक बस्ने लगायतका निर्णय भएका छन् । 

यस्तै, फातिमा फाउण्डेशनले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ र ७ मा सञ्चालन गरेको ‘सामुदायिक सुरक्षा जालो परियोजना’ का बारेमा पनि बैठकमा छलफल भएको छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी रिजालले शीतलहर चल्ने समय भएकाले सबैलाई यसको पूर्व तयारी र प्रतिकार्यमा जुट्न आग्रह गर्नुभयो । 

उहाँले सर्वसाधारणलाई चिसो र शीतलहरूबाट जोगाउन जिल्लामा हालसम्म भएको पूर्व तयारीबारे जानकारी दिनुभयो । सबैजसो स्थानीय तहले आगो ताप्ने व्यवस्थाका लागि आवश्यक दाउरा र न्यानोका लागि कम्बलको व्यवस्थापन गरेको उहाँको भनाई छ । 

प्रमुख जिल्ला अधिकारी रिजालले भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी ढंगले मनाउने गरी लाग्न पनि आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले विपद् व्यवस्थापन लगायत सङ्घसंस्थाका विविध गतिविधि र क्रियाकलापमा मिडियासँगको सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मिडियाको आवश्यकता र अपरिहार्यता मनन गर्न आग्रह समेत गर्नुभयो । 

त्यसक्रममा गैर सरकारी संस्था महासङ्घका सचिव रमेश सिटौला, फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्दिकी लगायतले पनि धारणा राख्नुभएको थियो । 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी द्वय उमाकान्त अधिकारी र खडानन्द खत्री, सशस्त्र प्रहरीका एसपी विमल डाँगी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, विषयगत सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिति थियो । 

सो अवसरमा फातिमा फाउण्डेशन, बी–ग्रुप, नेपाल रेडक्रस सोसाइटी, बाँके युनेस्को क्लब, सेभ द चिल्ड्रेन, सामाजिक विकास मञ्च, विश्व खाद्य कार्यक्रम, फेडो, कारितास नेपाल लगायतले आफ्ना गतिविधिबारे जानकारी गराएका थिए । 

आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले सहजीकरण गर्नुभएको बैठकको व्यवस्थापन फातिमा फाउण्डेशनले गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button