तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका झन्डै १३ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

सल्यान ।  सल्यानका झन्डै १३ हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको  एचपीभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ । 

१० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९ सय ३८ जना किशोरीहरूलाई यो खोप लगाउन लागिएको हो । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार १० पालिकाका २ सय ३७ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने छ । 

देशव्यापी खोप कार्यक्रम आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म सञ्चालन हुनेछ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरी र विद्यालय नजाने किशोरीहरूलाई लक्षित गरी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार खोप केन्द्रमा २ सय ५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरूसँग खोप अभियान सञ्चालन गर्न समन्वयात्मक कार्यक्रम गरिने उहाँले बताउनुभयो ।  

विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको र विद्यालय बाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उहाँले बताउनुभयो  ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप अधिकृत तारा रिजालका अनुसार ९० प्रतिशत किशोरीलाई खोप पुर्‍याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button