बिहीबारदेखि सुरु हुने पोखरा महोत्सवको तयारी पुरा
पोखरा । युनाईटेड क्लब पोखराको आयोजनामा यही पुस २५ गते (बिहीबार) देखि पोखरामा १३ औँ संस्करणको पोखरा महोत्सव सञ्चालन हुने भएको छ । आउँदो माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना उक्त महोत्सवको तयारी पुरा भएको मङ्गलवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण सँगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहल कदमी थाल्दै आएको युनाईटेड क्लबले १३ औँ संस्करणको पोखरा महोत्सवदेखि युनाईटेड छात्रावास निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको क्लबका अध्यक्ष तथा १३ औँ पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक लोक बहादुर थापाले बताउनु भयो ।
त्यसैगरी क्लबले खेलकुदको क्षेत्रमा आफै खेलकुदका प्रतियोगिता सँगै खेलकुदका कार्यक्रमहरूमा प्रायोजन सँगै सहयोगी संस्थाको रुपमा काम गर्दै आइरहेको बताउँदै अध्यक्ष थापाले महोत्सवकै आयोजना गरी युनाईटेड क्लबले हाल सम्म पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणमा ५८ लाख ८५ हजार हस्तान्तरण गरिसकेको दाबी गर्नु भयो ।
उक्त परियोजना गण्डकी प्रदेश सरकार अन्तर्गत जिल्ला डिभिजन बन कार्यालयले स्वामित्व लिएर प्रदेश सरकारकै गौरवको आयोजना अन्तर्गत काम भइरहेको उहाँले जनाउनु भयो । पोखरा महोत्सवको आयोजना गरी सेती नदी संरक्षणको क्षेत्रमा समेत काम गर्दै आइरहेको र यस वर्ष पनि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याउने कार्यलाई निरन्तरता दिएको क्लबका महासचिव तथा प्रचार प्रसार संयोजक दिनेश सुनारले बताउनु भयो ।
महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको वेटर, प्रायोजकहरूमा बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालि, युएनआई एक्सपर्ट एलइडी लाइटिङ, स्टार सीड टेक्नोलोजीस, विवश इलेक्ट्रीकल प्रालि, साकुरा डिजाइनर्स एण्ड बिल्डर्स प्रालि, रारा तयारी चाउचाउ, सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप (शिवचोक पोखरा १०), ओमडा जेको, भिजन लिङ्क कन्सल्टेन्सी प्रालि रहेका छन् ।
त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनै पनि व्यक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लिङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउने भएका छन्।
त्यसैगरी महोत्सवमा आयोजना गरिने विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगितामा सहयोगी संस्था गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गर्ने छ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निःशुल्क सिम उपलब्ध गराउने छ ।
महोत्सवमा आयोजना हुने टिकटक प्रतियोगितामा लाइकको आधारले प्रथम हुनेलाई आशिष इन्स्टिच्युट प्रालिको तर्फबाट नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महोत्सवको टिकट अनलाइन बाट रेभल एप मार्फत समेत बुकिङ गर्न सक्नेछन् ।
महोत्सवमा शारीरिक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरूलाई निःशुल्क प्रवेश गराइने छ । १२ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहेको र सम्पूर्ण स्टलहरू बुकिङ भइसकेका छन् । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरूको बजार सहजीकरण गराउने, सबै कलाकारहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत विकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरूको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिहरूको प्रदर्शनी एवं जानकारी, व्यवसायीक संघ संस्थाहरूको सेवा बारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरूको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरूको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरूको जानकारी, सामाजिक संस्थाहरूको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती सँगै कृषिका गतिविधिहरू सञ्चालन हुनेछन ।
महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ राजु परियार, बद्री पंगेनी, ज्योति मगर, रचना रिमाल, श्याम राना, शान्तिश्री परियार, प्रकाश दुतराज, सम्झना लामिछाने मगर, शान्तारानी परियार, अस्मिता अधिकारी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, लगायत स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछ ।
कन्सर्ट तर्फ जेम्सी, भिटेन, टुकी, उर्गेन, दि फिरन्ते, लाहुरे एण्ड ब्याड कम्पनी, रक हेड्स, पूर्ण राई एण्ड दाजुभाइहरू, सुगम पोखरेल एण्ड बाजागाजा, कबवेव र लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ । त्यसैगरी हास्य व्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती, बाल उद्यान, विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू रहनेछन् । त्यसैगरी थप आकर्षणमा टिकटक प्रतियोगिता र विभिन्न मनोरञ्जनका कार्यक्रमहरू हुनेछन । १३ औँ महोत्सवको थप आकर्षण र व्यवसायीक जानकारीको लागि अष्ट्रिच पंक्षीको प्रदर्शनी र जानकारी दिइने छ ।
प्रतिक्रिया राख्नुहोस्