तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी बौद्धिक मञ्चको अध्यक्षमा डा. अधिकारी

काठमाडौँ ।  मदन भण्डारी बौद्धिक मञ्च नेपालको अध्यक्षमा डा. बाबुराम अधिकारी निर्वाचित हुनु भएको छ ।

यही पुस २२ गते काठमाडौँमा सम्पन्न मञ्चको प्रथम वार्षिक साधारण सभाले डा. अधिकारीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा पुण्यप्रसाद ढकाल, महासचिवमा लक्ष्मण रायमाझी, सचिवमा नवराज पोखरेल, सहसचिवमा लिला क्षेत्री जिसी र कोषाध्यक्षमा गुप्तबहादुर डिसी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता गणेश घिमिरेले जानकारी दिनुभयो ।

त्यसैगरी, सदस्यहरूमा कमल न्यौपाने, धर्मराज मैनाली, डा. मिना अधिकारी, पुष्करराज प्रसाईँ, चन्द्रप्रसाद निरौला, रामचन्द्र नेपाल, डम्बरादेवी अर्याल, राधादेवी आचार्य र भगवती दहाल निर्वाचित हुनुभएको घिमिरेले जानकारी बताउनुभयो ।

मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले अध्यक्ष निर्वाचित हुनुभएकोमा डा. अधिकारी लगायत सम्पूर्ण कार्यसमितिलाई बधाई दिनुभयो । उहाँले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटेर बौद्धिक मञ्चलाई बहुआयामिक बनाउन सफल भएकोमा कार्यसमितिप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

मञ्चले कुलबहादुर आचार्यको अध्यक्षता र उषाकिरण भण्डारीको प्रमुख आतिथ्यमा सोमबार बिहान उद्‌घाटन समारोहको आयोजना गरेको थियो । सो अवसरमा मदन भण्डारी बौद्धिक मञ्च नेपालको साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

३ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएका डा. अधिकारीले सिद्धान्तनिष्ठ राजनीतिक वैचारिक अगुवा मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (सिद्धान्त) लाई विभिन्न कोणबाट व्याख्या, विश्लेषण गर्न बौद्धिक मञ्चले थिङ्क ट्याङ्कको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व अध्यक्ष डा. अधिकारी हाल मदन भण्डारी मेमोरियल कलेजका प्रमुख समेत हुनुहुन्छ ।

मदन भण्डारी बौद्धिक मञ्च नेपाल लगायत मदन भण्डारी मेमोरियल कलेज, मदन भण्डारी स्पोर्टस् एकेडेमी, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, मदन भण्डारी कृषि प्राविधिक स्कुल फाउण्डेसनमा आवद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button