तपाईँ सुन्दै हुनुहुन्छः

कुलतबाट युवालाई जोगाउन हुलाकी राजमार्गको ४४ पालिकामा विशेष अभियान

oplus_2

जनकपुरधाम । मधेश प्रदेशमा युवाहरूमा लागु औषधको सेवन गर्ने प्रवृत्तिमा वृद्धि भएपछि मधेश प्रदेश सरकारले हुलाकी राजमार्गसँग जोडिएका ४४ पालिकामा युवालाई कुलतबाट जोगाउन विशेष अभियान चलाउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तहहरूको समन्वय र सहकार्यमा लागु औषध नियन्त्रण सम्बन्धि कार्यक्रममा बोल्दै मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले सो कुराको जानकारी दिनु भएको हो । 

उहाँले लागु औषधको सप्लाई च्यानलाई ब्रेक थ्रु नगरेको खण्डमा मुलुकको युवा जनशक्ति समाप्त हुने डर भएकाले सबै तहका सरकार यस प्रति गम्भीर भएर काम गर्न आवश्यक भएको बताउँदै सीमा क्षेत्रबाट हुने लागु औषधको कारोबार तथा ओसार पसार नियन्त्रणका लागि सीमावर्ती १९ पालिकामा प्रदेश सरकारले सिसिटिभी क्यामरा जडान गरेर नियन्त्रण तथा निगरानी गर्ने बताउनुभयो । 

oplus_2

लागु औषधको कारोबार, सेवन तथा रोकथामका लागि विद्यालय तथा समुदाय स्तरमा अन्तरक्रिया र संवाद गर्न जरुरी रहेको मधेश प्रदेश सरकारका गृह मन्त्रालयका सचिव रिजालले जानकारी दिँदै यसमा प्रदेश सरकार सहकार्य एवं सहयोग गर्नका लागि तयार भएको बताउनु भयो । 

कार्यक्रममा बोल्दै नेकपा एमाले धनुषाका जिल्ला अध्यक्ष राजकिशोर यादवले सीमा क्षेत्रबाट हुने लागु औषधको कारोबार नियन्त्रणका लागि सीमा क्षेत्रका सुरक्षा निकायलाई गम्भीर हुनका लागि आग्रह गर्दै लागु औषध सेवा गर्नेलाई प्रहरीलाई नियन्त्रणमा लिएर कारबाही गरे यसमा पार्टीबाट कुनै हस्तक्षेप नहुने बताउनु भयो । 

नेपाली काँग्रेस धनुषाका उपसभापति गणेश झाले लागु औषधको विषयमा सबै पक्ष जानकार भएपनि यसको नियन्त्रणका लागि इमान्दार प्रयास नभएको खण्डमा मुलुकका लागि नै दुर्भाग्यको अवस्था आउने बताउनु भयो । धनुषाका १८ पालिका मध्ये गणेशमान चारनाथ नगरपालिकाका नगरप्रमुख जीतनारायण यादवले लागु औषधको कारोबारको जालो तथा सेवनबाट युवा प‌क्तिलाई जोगाउनुको कुनै विकल्प नभएको बताउनु भयो । 

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सीमावर्ती भारतीय क्षेत्रमा नेपालका युवाहरूलाई सजिलै किसिमले विना चिकित्सकको पूर्जी लागु औषध दिने गरेका कारणले धेरै युवाहरू लागु औषध सेवन गरेर बर्बाद भएको बताउँदै यसलाई रोक्नका लागि दुई देशका बीचमा नै पहल गर्न आवश्यक भएको बताउनु भयो ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले समाजमा युवाहरूलाई जोगाउनका लागि लागु औषधका दुर्व्यसनीलाई छोडाउने होइन बरु थुनाउने तर्फ दल तथा नेताहरू गम्भीर हुन जरुरी रहेको बताउनु भयो ।  धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले लागु औषधको कारोबार नियन्त्रणका लागि विद्यालय तहमा नै अभियान चलाउन आवश्यक भएको बताउनु भयो । कार्यक्रममा धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन वागटी, नेपाल पत्रकार महासङ्घ धनुषाका उपाध्यक्ष अवधेश कामतले पनि बोल्नु भएको थियो ।       

प्रतिक्रिया राख्नुहोस्

Back to top button