स्थायित्वका लागि कांग्रेस र एमालेबिचको सरकार गठन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको दिगो राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिचको सरकार गठन भएको बताउनुभएको छ ।
ललितपुरको च्यासलमा आजदेखि सुरु भएको पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रधानमन्त्री ओलीले राजनीतिक अस्थिरता र दाउपेचको खेती निस्तेज पार्न नेपाली काँग्रेससँगको नयाँ राजनीतिक कोर्समा जानुपरेको प्रष्ट पार्नुभयो ।
बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रधानमन्त्री ओलीले वर्तमान सत्ता समीकरण राष्ट्रिय आवश्यकता र विद्यमान राजनीतिक शक्ति सन्तुलनको लागि एक मात्र सम्भव विकल्प भएकोले यसलाई प्रभावकारी र सफल बनाउन केन्द्रित हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले हालको सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश प्रवाह हुनका साथै साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, अर्थतन्त्रमा सुधार, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको र विकास–निर्माणले गति लिएको जानकारी गराउनुभयो ।
बैठकले पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरु निरज आचार्य र विष्णु रिजाल रहेको ‘बहस नोट कमिटी’ तथा केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरु रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्