तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी क्रिकेट रङ्गशालामा जयट्रफी क्रिकेट शुरु

वीरगञ्ज । वीरगन्ज स्थित नारायणी क्रिकेट मैदानमा आजबाट शुरु भएको जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलमा नेपाल पुलिस क्लबविरुद्ध पहिलो इनिङ्मा त्रिभुवन आर्मी क्लबले १ सय २१ रन बनाएको छ ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ३४.४ ओभरमा अलआउट हुँदै १ सय २१ रन मात्र बनाएको हो । पुलिसका ललित राजवंशीले एक्लैले ७ विकेट लिएपछि आर्मी पहिलो इनिङ्मा १ सय २१ रनमै सीमित हुन पुग्यो ।

आर्मीका लागि कुशल मल्लले २५ रन, भीम सार्कीले २२ रन, विनोद भण्डारीले २१, बसिर अहमदले १२ रन, सोमपाल कामीले ५ रन र सन्तोष कार्कीले १ रन बनाएका थिए । पुलिसका लागि ललितले १४.४ ओभर बलिङ गर्दै एक्लैले ७ विकेट लिए भने रसिद खान, श्रवण यादव र कुशल भुर्तेलले समान एक–एक विकेट लिएका थिए ।

त्यसपछि आफ्नो पहिलो इनिङको व्याटिङ् थालेको पुलिसले पहिलो दिन १ सय ३ रन बनाएको छ । पहिलो दिनको खेल सकिनुअघि पुलिसले २४ ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको हो । पुलिसका लागि ३४ रन बनाएका गुल्शन झा र १ रन बनाएका प्रेम तामाङ क्रिजमा अविजित रहे । त्यसबाहेक पुलिसका लागि अमित श्रेष्ठले १८, रसिद खानले १६, शङ्कर राना १३ र दिलीप नाथले १० रन मात्रै जोडे । कुशल भुर्तेल र अर्जुन साउद भने शुन्य रनमै आउट हुन पुगेका थिए ।

बलिङतर्फ आर्मीका साहब आलम एक्लैले ५ विकेट लिएका थिए भने ११ ओभर बलिङ गरेका आलमले ५५ रन खर्चिएर ५ विकेट लिएका हुन् । त्यस्तै सोमपाल कामी र पवन कार्कीले एक–एक विकेट लिए ।

प्रतियोगिताको समुद्घाटन वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले गर्नुभएको थियो ।

रेड बल र ह्वाइट जर्सीको प्रयोग भइरहेको दुई दिवसीय जय ट्रफी एलिट कप माघ ३ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितामा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा रहेका नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेस प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

सिङ्गल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबिच माघ ३ गते फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button