तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरदायी र व्यावसायिक पत्रकारिता आजको आवश्यक: मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सवलिकरणकालागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाई संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल दाङबाट प्रतिनिधित्व गर्दै  नेपाल पत्रकार महासङ्घमा नव निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय परिषद् सदस्य एवम् प्रदेश परिषद् सदस्यलाई  बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार माध्यमलाई बलियो बनाउन र संरक्षण गर्न सञ्चार ऐनलाई संशोधन गरेर सुधार गरिने बताउनु भएको हो ।‘सञ्चार ऐनलाई संशोधन गरेर भएपनि मिडिया क्षेत्रमा देखिएका समस्या समाधान गर्ने सरकारको योजना छ । यो काम अघि बढेको छ’उहाँले भन्नुभयो,‘प्रदेश सभाको हिउँदे अधिवेशनबाट ऐनलाई संशोधन गरेर मिडिया क्षेत्रको कामलाई प्रभावकारी बनाउने योजना छ ।’


उत्तरदायी र व्यावसायिक पत्रकारितालाई जोड दिँदै मुख्यमन्त्री आचार्यले पछिल्लो समय देखिएका विकृति, विसङ्गति अन्त्यकालागी स्वयं पत्रकारिता क्षेत्र सजग र चनाखो हुनुपर्ने धारणा राख्नु भयो ।‘मर्यादित र व्यवसायीक पत्रकारिता आजको आवश्यकता हो । तर, केही विकृति, विसङ्गति भित्रिएका छन् । त्यसलाई निर्मूल पार्न जरुरी छ’उहाँले भन्नुभयो,–‘प्रदेश सरकार पत्रकारहरूको हकहित सुनिश्चित गर्न दृढ र प्रतिबद्ध छ ।’ आम सञ्चार माध्यमको विकासकालागि प्रदेश सरकारले साझा नीति अवलम्बन गरेको, सबै क्षेत्रको सन्तुलित विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।‘सबै मिडियाको सुरक्षाको लागि सरकारले ध्यान दिएको छ । विज्ञापनहरूलाई एकीकृत रुपमा वितरण गर्ने गरी नीतिगत सुधार गर्ने योजनामा छौँ’उहाँले भन्नुभयो,‘प्रदेश भित्रका सबै सञ्चार माध्यम र पत्रकारहरूलाई साझा रुपमा सम्बोधन गर्ने नीति प्रदेशको छ ।’


हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने गरी क्रियाशील हुन आह्वान समेत गर्नु भयो । प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका केन्द्रिय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव सविन प्रियासन, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेकपा एमाले दाङ प्रचार विभाग प्रमुख सङ्गीत बस्याल लगायतले उत्तरदायित्व सहितको स्वतन्त्र पत्रकारितालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले नीतिगत सुधार गरेर जान आवश्यक रहेकोमा जोड दिनु भएको थियो । कार्यक्रमको सहजिकरण चौतारी दाङका सचिव किरण गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button