तपाईँ सुन्दै हुनुहुन्छः

सुनकोशी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा

उदयपुर । उदयपुर जिल्ला र खोटाङ जिल्लालाई सिधा छोड्ने गाईघाट दिक्तेल सडक खण्डको सुनकोशी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । 

गत असोज १२ गते आएको बाढीले उदयपुरको रौतामाई गाउँपालिका–५ र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे जोड्ने फोक्सिनटारस्थित मोटरेवल पक्की पुल भत्काएपछि यातायात अवरुद्ध थियो । सुनकोशी नदीको फोक्सिनटारस्थित मोटरेवल पक्की पुल भत्काएपछि उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात आवतजावत बन्द भएको थियो ।

अहिले गाईघाट दिक्तेल सडक खण्डको सुनकोशी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको भन्दै गाईघाट–दिक्तेल सडक योजना कार्यालयले पुस अन्तिम साताबाट उक्त सडक भएर सिधा यातायात सञ्चालन हुने जनाएको छ ।

५० मिटर लम्बाइको अस्थायी बेलिब्रिज जडानका लागि १ करोड २ लाख ९४ हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो । बेलिब्रिजका सामग्री पुरानै अवस्थामा फोक्सिनटारमा भएकाले निर्माण कार्य छिटो सम्पन्न हुने अपेक्षा रहेको समेत योजना प्रमुख पशुपति ज्ञवालीले बताउनुभयो ।

२०७९ पुसमा सञ्चालनमा आएको आर्क डिजाइनको पक्की पुल बाढीले भत्काएपछि स्थानीयले झोलुङ्गे पुल प्रयोग गर्दै आएका थिए । अब अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै यात्रुहरूको समस्या समाधान हुने अपेक्षा गरिएको छ । यद्यपि स्थायी पक्की पुल निर्माण नहुँदासम्म हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षात्को समयमा झिक्ने हुँदा फेरी बर्षाको समय सुरु हुनासाथ उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात आवतजावत बन्द हुने छ । हिउँदमा जसोतसो बेलिब्रिज जडान सँगै उदयपुर र खोटाङ जिल्लाको सिधा यातायात जोडिए वर्षामा पुनः समस्या हुने भन्दै खोटाङे स्थानीयबासीले सरकारलाई पहल स्थायी पुल निर्माण गर्न आग्रह गरेका छन्।

नेकपा एमालेका नेता विशाल भट्टराईले आफूले तत्कालको लागि वैकल्पिक उपाय अन्तर्गत बेलिब्रिज जडानलाई पहल गरेको भएपनि सरकार सँग स्थायी पुलको पुनः निर्माणका लागि निरन्तर संवाद भइरहेको जानकारी दिनुभयो । नेता भट्टराईले सुनकोशी नदीको फोक्सिनटारमा पुल नहुँदा खोटाङमा दैनिक उपभोग्य बस्तुको मूल्य समेत आकासिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button