कृषिमा आधारित उद्योगहरूको व्यवस्थापनका लागि आवश्यक ऐन संशोधनलगायतका काम अघि बढ्दै:मन्त्री भण्डारी
काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घरेलु तथा साना उद्योगको अवस्था, उपभोक्ता हित संरक्षणको अवस्था, मूल्यवृद्धि नियन्त्रणका लागि अनुगमनको अवस्था तथा मन्त्रालयले गरेका काम कारबाही लगायतका विषयमा आज छलफल गरेको छ ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समितिले गरेको छलफलमा सांसदहरुले सरकारले ठूला उद्योगहरूलाई बढी प्राथमिकता दिएको, साना उद्योगहरूमा ध्यान नदिएको, खाद्य सुरक्षाका लागि खाद्यान्न भण्डारको विषयमा सरकारले गरिरहेको काम, घरेलु तथा साना उद्योगलाई बढावा दिने लगायतका विषयमा मन्त्रालयलाई प्रश्न गर्नुभएको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीले कृषिमा आधारित उद्योगहरूको व्यवस्थापनका लागि आवश्यक ऐन संशोधनलगायतका काम अगाडी बढाइएको जानकारी गराउनुभयो ।
मन्त्री भण्डारीले कृषिजन्य लघु तथा साना उद्योगहरू सरकारको प्राथमिकतामा रहेको भएपनि त्यस्ता उद्योगहरू निकुञ्ज तथा वन क्षेत्रमा परेकाले विकासमा बाधा पुगेको बताउनुभयो ।
ऐनमा रहेको कानुनी जटिलता हटाई रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन गरेर रोजगारीको अवसर सिर्जना गर्नका लागि काम गरिरहेको मन्त्रालय जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्