पौष २४ देखि ऐतिहासिक निसान पदयात्रा
इलाम । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निसान पदमार्ग पहिचान गरी यही पौष २४ बाट निशान पदयात्रा सुरु हुने भएको छ ।
२४ देखि २६ सम्म निसान पदयात्रा गर्ने गरी तयारी थालिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ ।
तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो ।

करिब सय जना पदयात्री नेपाल–भारत पूर्वी सीमा मेचीबजारबाट २४ गते बिहान पदयात्रा शुभारम्भ गरिने पदयात्रा आयोजक समितिले जनाएको छ । पदयात्रा निसान ल्याएर राखिएको अर्को स्थान करफोकको पूर्णेडाँडामा त्यस दिन आउने छ । पुस २५ मा पूर्णेडाँडामा पदयात्राको औपचारिक उद्घाटन गरिने आयोजक जानकारी दिएको छ ।
उद्घाटनपछि पुनः सुरु भएको पदयात्रा निसान राखिएको अर्को स्थान माइजोगमाईको नामासालिङस्थित हात्तीटार आउने र २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माइबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम सदरमुकामस्थित माइस्थानमा आउनेछ। इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त रूपमा पदयात्रा आयोजना गरेका हो ।
नेपाल–अङ्ग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धिपछि नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय पालिकाले पहिचान गरी कार्यान्वयनका ल्याएको हो ।

यसअघि इलामको गढीथुम्कामा रहेको रणशार्दूल गणको पहलमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको पहलमा नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानदेखि इलामको निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गको पहिचान गरी कार्यान्वयनका लागि तीन वटै पालिकाको कार्यपालिका बैठकबाट अनुमोदन गर्न कार्यदलले पेस गरेर निसान पदमार्ग पहिचान गरेको थियो । भारतको नागरीगडीदेखि, नेपाल–भारत सीमा क्षेत्र सात माइल ९मेची मुहान०, सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको जिआइएस नक्सा तयार सार्वजनिक गरिएको थियो । ४१ किलोमिटर क्षेत्रमा तीन पालिकाका प्रतिनिधिले केही दिनअघि पैदल यात्रा गरी विभिन्न इतिहास खोजेर निसान पदमार्गको पहिचान गर्ने काम भएको थियो ।
पदमार्गले सबैभन्दा बढी क्षेत्र सूर्योदय नगरपालिकामा ओगटेको छ । सम्पूर्ण कामलाई अन्तिम रूप दिएर गत २४ मा पदमार्गको उद्घाटन गरिने रणशार्दूल गण इलामका गणपति प्रह्लाद घलेले जानकारी दिनुभयो । तत्कालीन माओवादी द्वन्द्वकालमा काठमाडौँ लगिएको निसान केही वर्ष नेपाली सेनाको पहलमा इलामको माईस्थान मन्दिरमा ल्याएर राखिएको थियो ।
पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निसान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्