मदन भण्डारी गोल्ड कप उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली रुपन्देही आउनुहुने
रुपन्देही । मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको मदन भण्डारी गोल्ड कप भलिबल प्रतियोगिता २०८१ उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली रुपन्देहीमा आउनुहुने भएको छ ।
यही पुस १७ गते बुधवारबाट रुपन्देही जिल्लाको बुटवल रामनगरमा सुरुवात हुने पुरुष भलिबल प्रतियोगितामा स्पोर्टस एकेडेमीका संरक्षक एवं प्रधानमन्त्री केपी ओली आउने कार्यक्रम रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुब आचार्यले बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओली सहित उप(प्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु पौडेलको समेत आतिथ्यता रहने छ । भलिबल च्याम्पियनसिपमा १ करोड १० लाख ६० हजार रुपैयाँ खर्चको अनुमान गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।
पुरुष भलिबल प्रतियोगितामा ८ टिमहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ७ लाख, द्वितीय पुरस्कार ३ लाख ५० हजार, तृतीय पुरस्कार १ लाख ७५ हजार, सान्त्वना पुरस्कार १ लाख, उत्कृष्ट खेलाडीका लागि २५ हजार र विधागत पुरस्कार १० हजार रहेको छ ।
कार्यक्रममा मदन भण्डारी स्पोर्टस एकेडेमी, नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गुजरात स्टेट भलिबल एसोसिएसन, मणिमुकुन्द भलिबल क्लब, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी टिमहरू रहेका छन् ।
पत्रकार सम्मेलन तथा ट्रफि अनावरण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीले ट्रफि अनावरण गर्नुभयो । भलिबल प्रतियोगितामा प्रथम हुनेले १५ केजीको ट्रफि पाउने स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्