तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक सेवा प्रसारण नेपालको ऐतिहासिक अवसरलाई उपलब्धिमा परिणत गरेर अगाडि बढ्नु पर्नेमा जोड

काठमाडौँ I सार्वजनिक सेवा प्रसारण नेपाल–पिएसविको ऐतिहासिक अवसरलाई उपलब्धिमा परिणत गरेर अगाडि बढ्नु पर्नेमा जोड दिइएको छ । 

नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल प्रतिष्ठान शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण एवं बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरूले पिएसविसँग रेडियो नेपाल र नेपाल टेलिभिजन दुवैको भविष्य जोडिएकाले यसलाई सफल बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले पिएसविको मर्म पुरा गर्न देखिने र परिणाम दिने गरी जनताकेन्द्रित विषयवस्तु उत्पादन गर्नतर्फ लाग्न सम्बद्ध सबैलाई आग्रह गर्नुभयो ।

उहाँले संस्थासँग जोडिएका नियमावली, विनियमावली र कर्मचारी समायोजन समय सापेक्ष रुपमा दुवै संस्थाको हित हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यव्यवहार सुधार गरी परिणाममुखी काम गर्न समेत कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पिएसविलाई मुल भावना अनुसार अगाडी लैजाने र विषयवस्तु उत्पादनसँगै श्रमको सुरक्षा, सम्मान र श्रमजीवीको हकहितमा सहकार्य गरेर अगाडी बढ्न महासङ्घ तयार रहेको बताउनुभयो । 

सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पिएसविको उद्देश्य अनुसार योजना बनाएर यसलाई सफल बनाउने गरी कामको थालनी भैसकेको भन्दै जनता केन्द्रित भएर उत्पादन र प्रसारणलाई अघि बढाउन आग्रह गर्नुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका नायव कार्यकारी निर्देशकहरू खगेन्द्र खत्री र चन्द्रभुुषणालाल दासले पिएसविलाई गर्व गर्न लायक संस्था बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यरत सबैले एकताबद्ध भएर काम गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल शाखाका निवर्तमान अध्यक्ष विप्रमणि आचार्य, नवनिर्वाचित अध्यक्ष भुषण कुमार पोखरेल, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनारायण पौडेल, पत्रकार महासङ्घ रेडियो नेपालका निवर्तमान उपाध्यक्ष वेन्जु सुवेदी, नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित उपाध्यक्ष सरिता खनालले पिएसवि कार्यान्वयनमा सबै एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गनुभयो ।  

यसैबीच, सार्वजनिक सेवा प्रसारण नेपाल–पिएसविका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण भइरहेको सिंहदरबार स्थित रेडियो नेपालको पुरानो प्रसारण भवनको अवलोकन गर्नुहुँदै चाँडो हस्तान्तरणको प्रक्रिया अघि बढाउन निर्देशन दिनुभयो । 

तस्विर : मिलन ढुङगाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button