सुशासन तथा स्थिरताको लागि गठबन्धन सरकार: नेता कोइराला
जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरता र सुशासन लागि दुई ठूला दलको नेतृत्वमा सरकार बनेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले मुलुकलाई अप्ठ्यारो परिस्थितिबाट पार लगाउन काँग्रेस र एमालेको सहकार्य भएको बताउनुभएको हो ।
वर्तमान गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नु हुने र काँग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने उहाँले बताउनु भयो ।
मुलुकका बैङ्कहरूमा वित्तीय तरलता बढेको र बैङ्कले व्याज दर घटाए पनि व्यवसायीले ऋण नलिएका कारणले अपेक्षा अनुसारको आर्थिक गतिविधि मुलुकमा बढ्न नसकेको बताउँदै उहाँले सरकारले लगानी कर्ता तथा व्यवसायीलाई थप विश्वासमा लिन जरुरी रहेको बताउनुभयो । नेता कोइरालाले पार्टी सभापति शेर बहादुर देउवासँग आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद नभएको र सबै नेताहरूसँग आफ्नो सहकार्य भइरहेको दाबी समेत गर्नुभयो ।
२०८४ को निर्वाचनमा काँग्रेस एक्लैले चुनाव लडेर जित्न सक्ने अवस्था भएपनि अहिलेको अवस्थामा गठबन्धन आवश्यक भएको र संविधान संशोधनको काम गर्दा नेकपा माओवादी केन्द्र, रास्वपा तथा मधेसवादी दलहरूसँग सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय संविधान संशोधन सहितका मुलुकका विभिन्न समस्याहरूको समाधानका लागि काँग्रेस एमालेका बीचमा गहन संवाद शुरु भएको बताउँदै उहाँले काँग्रेस संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
अर्को प्रसङ्गमा महामन्त्री गगन थापा आफूहरूसँग नै रहनु भएको दाबी गर्दै कोइरालाले अगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताउनुभयो । पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्