गुरुकुल शिक्षा विकासकालागि ध्यान दिन्छौंः मुख्यमन्त्री आचार्य
रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन विद्या केन्द्र गुरुकुल शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनु भएको छ ।
शिवराज नगरपालिका–४ कपिलवस्तुमा रहेको बालहंस साङ्गवेद संस्कृत गुरुकुल पाठशाला खरेन्द्रपुरको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले संस्कृत गुरुकुल पाठशालाहरूको स्तरोन्नतीकालागि प्रदेश सरकारले ध्यान दिने बताउनु भएको हो । ‘प्रदेश भित्र रहेका प्राचिन विद्या केन्द्रहरूको अध्ययन गरेर यसको स्तरोन्नतीकालागि सरकाले योजना बनाउँछ’उहाँले भन्नुभयो । ‘यहाँ पढाइहुने बिषयलाई थप गर्दै विद्यार्थीको आकर्षण बढाउन पनि ध्यान दिनुपर्ने छ ।’ कपिलवस्तुको खगेन्द्रपुरमा कक्षा ७ सम्म गुरुकुल शिक्षा प्रदान हुँदै आएको छ ।
माथिल्लो कक्षाकालागि स्वर्गद्वारी पठाउने गरिएको छ । मुख्यमन्त्री आचार्यसँग खगेन्द्रपुरमा बहुउपयोगी धर्मशाला र छात्रावास निर्माणकोलागि आग्रह गरिएको छ ।‘यहाँ भौतिक सुधारमै लगानी गर्नुपर्ने आवश्यकता छ । यसमा प्रदेश सरकारको साथ पाउँछौँ भन्ने आशा छ’पाठशालामा कार्यरत चूडामणि पोख्रेलले भन्नुभयो,‘बहुउपयोगी धर्मशाला र छात्रावास यहाँको आवश्यकता हो । सरकारले यसमा ध्यान दिनुपर्ने छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा भौतिक सुधारकालागि दश लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्