भन्सारमा तीन हजार बढी कन्टेनर थुप्रिदा व्यवस्थापनमा समस्या

वीरगंज । वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा सामान आयातकर्ताहरूको लापरबाहीले खाली तथा मालसामानले भरिएका कन्टेनरहरूको कारण समस्या भएको छ । हाल बन्दरगाह परिसर खाली र मालवाहक कन्टेनरले भरिएको छ । मङ्गलवार बन्दरगाह परिसरमा १ हजार ७ सय ५८ खाली र १ हजार २ सय ४७ मालवाहक समेत गरी ३ हजार ५ कन्टेनर रहेका छन् ।
इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख कमल ज्ञवालीले हाल भारतीय रेल्वेको भगिनी संस्था कोंकरबाहेक निजी क्षेत्रका अन्य कम्पनीले पनि भारतीय बन्दरगाहहरूबाट रेल्वे र्याकमा कन्टेनर ल्याउने र उनीहरूबिचको आपसी समझदारीमा सञ्चालित ‘रोटेसन प्रणाली’ प्रभावकारी नहुँदा यस्तो समस्या आएको बताउनुभयो ।
‘एकातिर मालवाहक कन्टेनर निरन्तर आउने र त्यही दरमा खाली कन्टेनर फिर्ता नजाने प्रवृत्ति छ भने, अर्कोतिर आयातकर्ताले समयमा मालवाहक कन्टेनर नलग्ने र लगी हाले पनि खाली कन्टेनर समयमा फिर्ता नल्याउने प्रवृत्तिले निजी क्षेत्रका कम्पनीले चलाएको रोटेसन प्रणाली प्रभावकारी हुन नसकेको ज्ञवालीले बताउनुभयो ।

हाल यो बन्दरगाहमा कोंकरबाहेक प्रिस्टिन, डीपी वर्ल्ड, हिन्द टर्मिनल्स, बक्स ट्रान्सलगायतका कम्पनीले भारतको कोलकाता, हल्दिया र विशाखापटनम बन्दरगाहबाटबाट रेल्वे र्याक ल्याउने र पुनः खाली कन्टेनर फिर्ता लग्ने गरेका छन् । ५ कम्पनीले पालैपालो गरी मालवाहक कन्टेनर बोक्ने रेल्वे र्याक ल्याउने र फर्किँदा खाली कन्टेनर लग्ने गर्छन् । यी कम्पनीले आपसी समझदारीमा यो प्रणाली चलाएपनि कतिपय रेल्वे र्याक खालि कन्टेनर नै नबोकी रित्तै फिर्ता जाने गर्दा कन्टेनर भित्रिने र बाहिरिने प्रक्रियाबीच आवश्यक सामञ्जस्यता नमिलेको हो । एउटा र्याकले एक पटकमा ९० वटा खाली वा मालवाहक कन्टेनर बोक्नै गर्दछ ।
बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख धनबहादुर बरुवालले समस्या बढेपछि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा रेल्वे र्याक ढुवानीकर्ता कम्पनी र सिपिङ लाइन कम्पनीहरूसँग समन्वय गरी बन्दरगाहमा रहेका खालि कन्टेनर भारतीय बन्दरगाहमा फिर्ता गर्न भारतबाट खाली रेल्वे र्याक पठाउने समझदारी भएको बताउनुभयो ।
वीरगन्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सारको क्षमता १ हजार ५ सय कन्टेनर मात्रै हो । यस्तो अवस्थामा क्षमता भन्दा दोब्बर बढी कन्टेनरको चाङ लाग्दा भन्सार यार्डको व्यवस्थापनमा समेत जटिलता थपिएको छ ।







प्रतिक्रिया राख्नुहोस्