बङ्गलादेशमा हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
ढाका । बङ्गलादेशले पदच्यूत नेता शेख हसिना र उहाँको परिवारले रुस समर्थित आणविक ऊर्जा संयन्त्रमा कथित पाँच अर्ब डलरको घोटालाको अनुसन्धान सुरु गरेको भ्रष्टाचार विरोधी आयोगले सोमबार जनाएको छ ।
अगस्टमा क्रान्तिद्वारा पदच्युत भई भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री हसिनाका साथै उहाँका छोरा सजीब वाजेद जोय र भतिजी टुलिप सिद्दिक अनुसन्धानको दायरामा पर्नुभएको छ । सिद्दिक बेलायती सांसद र सरकारी मन्त्री हुनुहुन्छ ।
हसिनाका राजनीतिक प्रतिद्वन्द्वी नेसनल डेमोक्रेटिक मुभमेन्ट पार्टीका अध्यक्ष बबी हजाजले उच्च अदालतमा अनुसन्धान गर्न माग गर्दै दायर गरेको रिटमा आरोप लगाइएको थियो । “हामी हाम्रो अदालतमार्फत न्याय खोज्छौँ”, हजाजले सोमबार एएफपीलाई भन्नुभयो ।
दक्षिण एसियाली यस देशको पहिलो प्रमुख आरोपहरू १२ अर्ब ६५ करोड डलरको रूपपुर आणविक संयन्त्रको वित्तीयकरणसँग जोडिएको छ । यसमा मस्कोले ९० प्रतिशत ऋण लगानी गरेको छ ।
हसिना र परिवारका सदस्यहरूले ‘मलेसियाका विभिन्न अपतटीय बैङ्क खाता’ मार्फत रूपपुर संयन्त्रबाट ‘पाँच अर्ब डलर’ दुरुपयोग गरेको आरोपबारे अनुसन्धान सुरु गरेको आयोगको सोमबारको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले आफ्नो अनुसन्धानमा संयन्त्रको ‘अत्यधिक मूल्यको निर्माणसँग सम्बन्धित शङ्कास्पद खरिद अभ्यासहरू’ को अनुसन्धान गरिरहेको जनाएको छ ।
“किकब्याक (कसैलाई उनीहरूको मद्दतका लागि पुरस्कारका रूपमा दिइने घुस वा भुक्तानी), कुव्यवस्थापन, मनी लन्ड्रिङ र शक्तिको सम्भावित दुरुपयोगको दाबीले परियोजनाको अखण्डता र सार्वजनिक कोषको प्रयोगको बारेमा महत्त्वपूर्ण चिन्ताहरू खडा गर्दछ”, आयोगले भन्यो ।
भ्रष्टाचारका आरोपहरूमा घरविहीनहरूका लागि सरकारी भवन योजनाबाट चोरी पनि समावेश छ ।
सतहत्तर वर्षीया हसिना अगस्ट ५ मा हेलिकप्टरबाट भागेर भारत निर्वासनमा जानुभयो । यसले कथित ‘सामूहिक हत्या’ को मुद्दामा उहाँलाई परीक्षणको सामना गराउन दृढ धेरै बङ्गलादेशीलाई क्रोधित बनायो ।
हसिनासँग टिप्पणीका लागि सम्पर्क गर्न सम्भव भएन ।
बेलायती प्रधानमन्त्री कार्यालयबाट आएको विज्ञप्तिअनुसार सिद्दीकले उहाँलाई घोटालामा संलग्न भएको आरोप लगाइएको ‘दाबीमा कुनै संलग्नता अस्वीकार’ गर्नुभएको छ ।
अमेरिकामा रहनुभएको बुझिएका जोय पनि टिप्पणीका लागि उपलब्ध हुनुभएन । रासस
प्रतिक्रिया राख्नुहोस्