चिसोले मुगुको सीमा सुरक्षा प्रभावित: स्थानीय बस्ती र प्रहरी चौकी बेसीतिर सारियो

मुगु । चिसोको चपेटाले मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ मा स्थानीय जनजीवन र सीमा सुरक्षामा गहिरो प्रभाव पारेको छ। अत्यधिक चिसोका कारण स्थानीय बासिन्दाले घरमा ताल्चा लगाएर तल बेसीतिर झर्ने क्रम सुरु गरेका छन्। यससँगै, सीमा सुरक्षामा खटिएका प्रहरीलाई पनि अस्थायी रूपमा चितैकुना स्थानतर्फ स्थानान्तरण गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुले सीमा सुरक्षामा चुनौती नआओस् भनी सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक सहित ९ जना प्रहरीलाई चितैकुना क्षेत्रतर्फ सारिएको जनाएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार मङ्सिर १५ मा यो स्थानान्तरण गरिएको हो।

गत वर्षहरूमा सीमा प्रहरी चौकीलाई सदरमुकाम गमगढीमा सार्ने गरिएको भए पनि यसपटक स्थानीय सरकारको अनुरोधमा चौकीलाई चितैकुनामा राखिएको प्रहरी नायव उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो । गर्मी सुरु भएपछि चौकीलाई पुनः सीमातर्फ फर्काइने प्रनाउ गिरिले जानकारी दिनु भयो ।

चिसो मौसम सुरु भएसँगै अधिकांश स्थानीयले आफ्नो बस्ती छाडेर तल बेसीतिर झर्ने गर्छन्। हिमपातका कारण गाउँ सुनसान हुने र नाका बन्द भई आवागमन ठप्प हुने स्थिति सिर्जना हुन्छ। यस्तो अवस्थामा प्रहरी चौकीलाई तल सार्नु परम्परा जस्तै बनेको छ।
चिसो छल्न स्थानीय र प्रहरी दुवै तल झर्ने हुँदा सिमामा सुरक्षाको अभाव हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। तर, यसपटक बेसीतिरको कार्यक्षेत्र थप व्यवस्थित बनाइएको बताउँदै प्रनाउ गिरीले सुरक्षा चुनौतीलाई सम्बोधन गर्ने विश्वास व्यक्त गर्नु भयो ।
चिसोको चक्रले स्थानीय जनजीवन र सुरक्षा व्यवस्थापनमा निरन्तर प्रभाव पार्दै आएको छ। अब गर्मी सुरु नभएसम्म मुगुको सीमा प्रहरी चौकी चितैकुनाबाट सञ्चालन गरिने बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्