तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकता’

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । 

राप्ती गाउँपालिका–४ पिरखुट्टी निवासी उद्यमी डम्बरबहादुर जिसी र राप्ती गाउँपालिकाका जनप्रतिनिधिसँगको भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय वन, जङ्गलमा पाइने कच्चा पदार्थलाई नेपाली कागज बनाउन सदुपयोग गर्न सकिने र त्यसलाई प्रदेश सरकारले प्रवद्र्धन गर्ने बताउनुभयो ।

उहाँले स्थानीय उत्पादन बढाउन साना तथा घरेलु उद्योगलाई प्रवद्र्धन गरिने बताउनुभयो । “स्थानीय उत्पादनलेनै आर्थिक विकास बढ्छ । सरकारले पनि स्थानीय उत्पादन बढाउने गरी नीति तथा कार्यक्रम बनाएको छ”, उहाँले भन्नुभयो, “स्थानीय स्तरमा रोजगारी सृजना, स्थानीय कच्चापदार्थको सदुपयोग र आर्थिक आयस्तर बढाउन घरेलु तथा साना उद्योगले पुर्‍याएका छन् ।”

सो अवसरमा उद्यमी जिसीले आफूले नेपाली हाते कागज कारखाना स्थापना गरेको र वार्षिक एक करोड बढीको कारोबार भइरहेको मुख्यमन्त्री आचार्यलाई जनाकारी दिनुहुँदै, २० जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउनुभयो ।

“बनकसलाई नेपाली कागज बनाउन प्रयोग गरिरहेका छौँ । यो बनकस हरेक बर्ष सदुपयोग नभएर डढेलो लागेर खरानी हुन्थ्यो”, उद्यमी जिसीले भन्नुभयो, “गत बर्ष १५ लाख रुपैयाँको बनकस खरिद गरे । अहिले २० लाखको बनकस खरिद गर्ने योजना छ ।” 

उहाँले सरकारी कामकाजमा स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रयोगमा ल्याउन अनुरोध गर्नुभयो । “स्थानीय स्तरमा उत्पादन भएको नेपाली कागजलाई प्रदेश सरकारले सरकारी कामकाजमा प्रयोगमा ल्याउँदा हामीहरूलाई पनि हौसला थपिने थियो” जिसीले भन्नुभयो, “प्रदेश सरकारले उद्योगको स्तरबृद्धि गर्न पनि सघाउने आशा गरेको छु ।” उद्योगले स्थानीय उपभोक्ताबाट बनकस खरिद गर्दै आएको छ । लोक्ता भने बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छ । यहाँ उत्पादन भएको नेपाली कागज देशका ठूला शहरमा पुगेको, नेपाली कागज उत्पादन गर्न भ्याई नभ्याई भएको उहाँको भनाई छ । 

परिवारका सदस्यले सुरु गरेको घरेलु उद्योगबाट उत्पादन भएको कागजले राम्रो बजार पाइरहेको बताउनुहुँदै उहाँले अब उद्योगलाई स्तरबृद्धि गरेर थप २० जनालाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको बताउनुभयो । 

जिसीको परिवारले २०७९ फागुन १९ गतेबाट ४५ लाखको लगानीमा राप्ती नेपाली हाते कागज कारखाना स्थापना गरेर नेपाली कागज उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button