तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रूपान्तरणमा लागेका छौँ: मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनुभएको छ । 

आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी नयाँ नीति नै बनेको थिएन । नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको छ । यस विषयमा सरोकारवालासँग छलफल भइरहेको छ ।” पर्यटन नीतिसँगै ऐन पनि बनाउने तयारी भइरहेको उहाँको भनाइ छ । 

सरकारले भ्रमण दशक भनेर सन् २०२२ मा घोषणा गरिएको भए पनि त्यसको कार्यायोजना बनाएर सन् २०२५ देखि २०३५ सम्मलाई भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस विषयमा मन्त्रालयमा विषयगत समितिको देस्रो बैठक बसिसकेको छ । उक्त समितिले पर्यटन क्षेत्रलाई कसरी रूपान्तरणमा लिएर जाने, पर्यटकीय क्षेत्रको सम्भावना कसरी बढाउने, यसका माध्यमबाट रोजगारी कसरी सृजना गर्ने, देशको अर्थतन्त्रमा कसरी योगदान बढाउने भन्ने विषयमा छलफल भएको छ ।”

मन्त्रालय नीतिगत सुधारको बाटोमा अघि बढेको उल्लेख गर्दै मन्त्री पाण्डेले त्यसको परिणाम आउन केही समय लाग्ने बताउनुभयो । 

नागरिक उड्डयन क्षेत्रमा पनि सेवाप्रदायक निकाय र नियमनकारी निकाय अलग–अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्रिपरिषद्मा पुगेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले नेपाल एयरलाइन्समा देखिएको समस्या समाधानमा पनि काम भइरहेको जानकारी दिनुभयो । नेपाल एयरलाइन्सको एउटा मात्रै ट्विनअटर उडिरहेको अवस्थामा सात प्रदेशमा सात वटा ट्विनअटर सञ्चालन गर्ने गरी काम भइरहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button