तपाईँ सुन्दै हुनुहुन्छः

न्यायालयलाई असर र प्रभाव पार्ने कुरा कदापि स्वीकार्य हुदैन: प्रधानन्यायाधीश राउत 


काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले  वर्तमान न्यायालय पारदर्शितामा अब्बल रहेको बताउनुभएको छ ।

न्यायधीश समाज नेपालले आयोजना गरेको न्यायपालिकाको जनआस्था अभिबृद्धिमा सञ्चारकर्मीको भूमिका सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायालय खुला अदालतको अवधारणामा अघि बढिरहेको बताउँदै निष्पक्षतामा कुनै संशय नरहेको स्पष्ट पार्नुभयो ।

प्रधानन्यायाधीश राउतले न्यायालयलाई कतैबाट असर, आघात र प्रभाव पार्ने कुरा स्वीकार्य नहुने बताउनुभयो । उहाँले सञ्चारकर्मी र न्यायाधीशका आआफ्नो आचारसंहिता रहेको बताउँदै सबैले आफ्नो सीमामा रहेर गर्ने कामले न्यायालयको जनआस्था बढाउन सहयोग पुर्‍याउने बताउनुभयो ।

सर्वोच्च अदालतका  बरिष्ठतम् न्यायधीश सपना प्रधान मल्लले न्यायाधीशका आफ्नै सीमा रहेको बताउँदै न्यायाधीशले फैसलामार्फत बोल्ने बताउनुभयो  । बरिष्ठतम् न्यायधीश मल्ले कुनैपनि प्रभाव न्यायपालिकालाई सह्य नहुने भन्दै समाचार सम्प्रेषण विना पूर्वाग्रह र तथ्यमा आधारित हुनुपर्ने बताउनुभयो ।

न्यायधीश कुमार रेग्मीले  न्यायाधीशले फैसलाबाहेक नबोल्ने भएकाले न्यायाधीशका आवाज प्रेस जगतले बोलिदिनु पर्ने बताउनुभयो । न्यायधीश रेग्मीले अदालतमा हुने भ्रष्टाचार अझ संवेदनशील हुने भएकाले त्यसलाई समाचार बनाउँदा तथ्यमा आधारित हुनुपर्ने बताउनुभयो  ।

न्यायधीश हरि फुयाँलले प्रेसले सत्य तथ्यमा रहेर समाचार लेख्दा  अदालतको अवहेलाको मुद्दा नबन्ने र जनआस्था अभिबृद्धिमा सहयोग नै पुग्ने  बताउनुभयो  । न्यायधीश फुयाँलले अदालतका सूचना सम्प्रेषणका लागि मातहतका अदालतलाई सहजीकरण गर्न निर्देशन भएको जानकारी समेत गराउनुभयो  ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै न्यायधीश समाजका अध्यक्ष एवम् सर्वोच्च अदालतका न्यायधीश तिलप्रसाद श्रेष्ठले विश्वास र जनआस्थाकै जगमा न्यायालय अडिएको बताउँदै यसलाई बचाउन  प्रेस जगत र स्वयम् न्यायालयको भूमिका महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो । न्यायधीश श्रेष्ठले अदालतको विश्वास र पवित्रताप्रति शङ्का गर्ने अवस्था आए न्यायपालिकाको अस्तित्व नै समाप्त हुने बताउनुभयो ।

न्यायधीश समाज नेपालका महासचिव एवम् विशेष अदालतका अध्यक्ष टेक नारायण कुवरले अदालतको जनआस्था बढाउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । विशेष अदालतका अध्यक्ष कुवरले सञ्चारमाध्यमले न्यायालयको सम्वेदनशीलतालाई मनन गरेर अदालतको जनआस्था अभिबृद्धिमा सहयोग पुग्ने स्मरण गराउनुभयो  ।

मुख्य रजिस्टार देवेन्द्रराज ढकालले जनताको भरोसा नै अदालतको बल भएको भन्दै न्यायालयप्रतिको जनआस्था अभिबृद्धिमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताउनुभयो  ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका अध्यक्ष कालिका खड्काले न्यायालयको जनआस्था बढाउन पहुँचलाई मुख्य जोड दिनुपर्ने बताउनुभयो । अध्यक्ष खड्काले सञ्चार क्षेत्रप्रतिको अदालतको अपेक्षा  सूचनाको सहज पहुँचसँग जोडिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button