तपाईँ सुन्दै हुनुहुन्छः

सहिद आयुषका परिवारको प्रश्न — “गोली चलाउनेलाई किन कारबाही भएन ?”

बाँके। जेनजी आन्दोलनका क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागी मृत्यु भएका नेपालगञ्ज उपमहानगरपालिका–१ का १९ वर्षीय आयुष थापा मगरका परिवार अझै पनि न्यायको प्रतीक्षामा छन्।

घटना भएको एक महिनाभन्दा बढी बितिसक्दा पनि दोषी पहिचान र कारबाही प्रक्रिया अघि नबढ्दा परिवारले चिन्ता व्यक्त गरेको छ।

आयुषकी आमा पुनम थापाका अनुसार छोरा फ्रान्समा अध्ययनका लागि तयारी गर्दै भदौ ३ गते काठमाडौँ पुगेका थिए। तर, भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भयो। “मेरा छोरा देश बनाउन गयो, तर देशकै हातले मारियो,” आयुषका हजुरबुबा तोपबहादुर थापाले भावुक हुँदै भन्नुभयो ।

आयुषका बुबा सुशिल थापा तत्कालीन सरकारलाई घटनाको जिम्मेवार ठहर गर्दै उनीहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्नुभएको छ । “हाम्रो भविष्य खोसिएको छ, अब डर छैन — न्याय नपाए सडकमा उत्रिन्छौँ,” उहाँले भन्नुभयो ।

आमाले प्रहरीसँग जेनजी अभियन्ता मिराज ढुङ्गाना र काठमाडौँ महानगरका मेयर बालेन शाहमाथि समेत हत्याको अभियोगमा मुद्दा चलाउन माग गर्नुभएको छ। “अनुसन्धान निष्पक्ष हुनुपर्छ, हत्याराको पहिचान जेनजीको नाममा लुकाउन नपाइयोस्,” उहाँले भन्नुभयो ।

परिवारले दाबी गरेको छ कि घटनाको एक महिना बितिसक्दा पनि हत्यारा पक्राउ परेको छैन। उनीहरूले प्रश्न गरेका छन् — “विद्यार्थीलाई कसरी मार्न सकिन्छ?”, “छातीमा तीन गोली हान्ने कुन देशको कानुन हो?”, “गोली चलाउनेलाई किन कारबाही भएन?”

सहिद आयुषका परिवारले राज्यले दिएको १५ लाख रुपैयाँ क्षतिपूर्तिलाई स्वीकार गर्दै भनेका छन्, “पैसाको के मूल्य? हाम्रो छोरा फर्किँदैन। हत्यारालाई कारबाही गरियोस्, यही हाम्रो माग हो।”

घटनाको छानबिनका लागि बनेको सरकारी आयोगमाथि पनि परिवारले असन्तुष्टि जनाएको छ। “आयोग बनेको यत्रो दिन भयो, तर हामीसँग एक शब्द पनि सोधिएको छैन,” बुबा सुशिल थापाले भन्नुभयो ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले नेपालगञ्जमा सहिद आयुष थापा र सुलभ श्रेष्ठका परिवारलाई भेट्दै गहिरो संवेदना प्रकट गर्नुभएको छ । उहाँले भन्नुभयो , “जब नागरिक आफ्नै राज्यको गोलीबाट मर्छ, त्यो केवल अपराध होइन, संविधान र मानवताको उल्लङ्घन हो।”

अन्सारीले छानबिन आयोगले पीडित परिवारसँग संवाद नगर्नु दुःखद र अपमानजनक भएको बताउनुभयो । “न्यायका लागि लड्नेहरूलाई अपराधी बनाइन्छ, र गोली चलाउनेहरूलाई संरक्षण दिइन्छ — यो प्रवृत्ति बदल्नैपर्छ,” उहाँले भन्नुभयो ।

नेप्लीज म्याटर्सका संयोजक मोहम्मद रिहान मियाँले सहिद परिवारसँग भेटमा “खेलमार्फत न्याय” अभियान सुरु गर्ने घोषणा गरेका छन्।

आयुषका परिवार अझै पनि एउटै अपेक्षामा छन् — “देशको कानुनले बोलोस्, न्यायले जागोस्।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button