पत्रकारितामा आएको चुनौती सामना गर्ने पाठ्यक्रमको निर्माणमा जोड
जनकपुरधाम । सामाजिक सञ्जालका कारण विश्व पत्रकारितामा आएको परिवर्तनको असरबाट नेपाली पत्रकारिता प्रभावित भएकाले सोही अनुसारको परिवर्तन आवश्यक रहेकोमा विज्ञहरुले जोड दिनुभएको छ ।

राजर्षि जनक विश्व विद्यालयको पत्रकारिता विभागले आज जनकपुरधाममा आयोजना गरेको पत्रकारिता तथा आम सञ्चार सम्बन्धि कार्यशालामा सहभागी विज्ञहरुले सामाजिक सञ्जाल तथा कृत्रिम बौद्धिकतालाई ध्यानमा राखेर स्थानीय विषय वस्तुहरूलाई पाठ्यक्रम समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
विज्ञहरुले पत्रकारिता क्षेत्रमा विश्वमा आएको परिवर्तनसँग जुध्ने गरि समयानुकूलको पाठ्यक्रम निर्माण आवश्यक भएको त्रिभुवन विश्व विद्यालयका केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा.कुन्दन अर्यालले बताउनुभयो ।
उहाँले पत्रकार महासङ्घ तथा नेपाल प्रेस काउन्सिलले निर्माण गरेको पत्रकार आचार संहिता भन्दा जनकको कतिपय सिद्धान्तहरू उपयुक्त हुनसक्ने र कतिपय पत्रकारहरूले त्यसभन्दा राम्रोसँग पत्रकार आचार सहिताको व्यवहारिक पालना गर्ने गरेकाले यस क्षेत्रका विषय वस्तुहरू समावेश गर्न जरुरी रहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आम सञ्चार विभागका प्राध्यापक डा.घमराज लुइँटेलले पत्रकारिता क्षेत्रमा देखा परेको चुनौती तथा पत्रकारिता विषय पढेकाको रोजगारीको ग्यारेन्टी गर्न राज्य र निजी क्षेत्रका सञ्चार उद्यमीहरू संवेदनशील हुन जरुरी रहेको बताउनुभयो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगका स्वयंसेवक एवं वरिष्ठ फोटो पत्रकार हिरोयूकी ताईराले जति नै बौद्धिक कृत्रिमताको विकास भए पनि वास्तविक पत्रकारिता जस्तो विश्वास हासिल गर्न नसक्ने र स्थलगत रुपमा लिएको फोटो तथा भिडियोले दिने सन्देश ठूलो र गहन हुने बताउनुभयो ।
राजर्षि जनक विश्व विद्यालयका मानविकी तथा कानून संकायका डिन प्राध्यापक डा. नरेन्द्र कटुवालले कार्यशालाको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो ।
कार्यशालामा पत्रकारिता तथा आमसञ्चार क्षेत्रका विज्ञसहित वरिष्ठ पत्रकारहरूको सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्