तपाईँ सुन्दै हुनुहुन्छः

‘समाजमा व्याप्त विसङ्गति अन्त्य गर्न सक्रिय पत्रकारिताको उल्लेखनीय योगदान छ’

काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमले व्यावसायिक र मर्यादित पत्रकारितामार्फत सञ्चार क्षेत्रको प्रवर्द्धन, सूचनामा नागरिकको पहुँच स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोक शाखाको १२औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आज सम्मान गर्नुहुँदै प्रमुख गौतमले आवाज विहीन नागरिकको आवाज बन्न र समाजमा व्याप्त विसङ्गति अन्त्य गर्न सक्रिय पत्रकारिताले उल्लेखनीय योगदान पुर्‍याउने बताउनुभयो । 

उहाँले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकले विगत देखिनै सूचना सम्प्रेषणमा अहम भूमिका रहेका स्मरण गर्नुहुँदै अबको नेतृत्वले पनि अझ सशक्त रुपमा आवाज विहीन नागरिकको आवाज बन्न र समाजमा व्याप्त विसङ्गति अन्त्य गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष विनोदकुमार न्यौपानेले सबैसँगको समन्वय र सहकार्यमा अबको नेतृत्व अगाडि बढ्न बताउनुभयो । 

उहाँले जिल्ला समन्वय समितिले विगतका दिनहरूमा पनि नेपाल पत्रकार महासङ्घसँग समन्वय गर्दै आइरहेको र अबका दिनमा पनि निरन्तर समन्वयका साथ अघि बढ्ने बताउनुभयो । उहाँले नेपाल पत्रकार महासङ्घले पुरा गर्नुपर्ने थुप्रै जिम्मेवारी रहेको भन्नुहुँदै अबको नेतृत्वले काम गरेर देखाउने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका निवर्तमान अध्यक्ष बद्रीराज तिमल्सिनाले पत्रकार महासङ्घलाई बोलाएर जिम्मेवारी बोध गराउनुभएकोमा जिल्ला समन्वय समितिलाई धन्यवाद दिनुभयो । 

उहाँले जिल्लामा हुने सबै खालको सामाजिक गतिविधिहरू, स्थानीय निकाय, सरकार तथा गैरसरकारी निकायका कार्यक्रमहरूमा हुने सहभागिता होस् या जिल्ला समन्वय समिति आफैले गर्ने कार्यक्रममा महासङ्घलाई कहिले सँगै आयोजक र कहिले सहआयोजक बनाएर पनि सँगसँगै कार्य गर्दै आइरहेको भन्नुहुँदै यस्तो खालको सहकार्यको निरन्तर कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा शाखाको १२औँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय प्रतिनिधि परिषद् सदस्यहरु, प्रदेश परिषद् सदस्यहरु, तथा काभ्रेपलाञ्चोकमा घर भएका तर नेपाल पत्रकार महासङ्घको विभिन्न जिल्लाहरूमा निर्वाचित प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो ।  

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तामाङ, जिल्ला समन्वय अधिकारी पिताम्बर पाण्डे, नेपाल पत्रकार महासङ्घ, काभ्रेपलाञ्चोकका पूर्व अध्यक्षहरू भोजराज तिमल्सिना, मोतीराम तिमल्सिना, अग्रज पत्रकार मधुसुदन गुरागाईँलगायतको सहभागिता रहेको थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button