तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई मन्त्री खड्काको आग्रह

बुटवल । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । 

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा बुटवलमा आजदेखि सुरु भएको औद्योगिक व्यापार मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरूको चिन्ताप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले  व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यावसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको बताउनुभयो ।

मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण मुलुक अस्थिर भएको र लगानीको वातावरण समेत बिग्रिएको अवस्थालाई मध्यनजर गरी दुई ठूला दल मिलेर सरकार बनाएको जनाउनुहुँदै यो सरकार पूरा अवधि रहने र राजनीतिक स्थिरता पनि कायम भई लगानीको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले वर्तमान सरकार बनेपछि १० वर्ष भित्रमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १६ हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना अगाडि बढाइएको बताउनुभयो । उहाँले यो सरकार बनेपछि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने कार्य सुरु गर्नुको साथै भारतमा समेत विद्युत् व्यापार विस्तार भई व्यापार घाटा कमी गरिएको बताउनुभयो । विद्युतमा ट्रङ्क लाइन र डेडिकेटेड लाइनमा भएको विवाद अहिलेको नभई १० वर्षदेखि थाती रहेको विषयलाई अहिले आएर उचालिएको भन्दै महशुल बक्यौता उठाउनकै लागि लाइन काट्ने कुरा उचित नभएको बताउनुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेश लगानीका हिसाबले धेरै सम्भावना रहेको उल्लेख गर्नुहुँदै लगानीको वातावरण बनाउन संघीय सरकारसँगै प्रदेश सरकार पनि लागि परेको बताउनुभयो ।

उहाँले प्रदेशको विकास र प्रदेशमा औद्योगिक विकासका लागि सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने नीति लिइएको बताउनुभयो । मन्त्री कार्कीले नीजि क्षेत्रबाट सञ्चालन हुने मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यहाँका उद्योगी व्यवसायीका समस्या स्थानीय सरकारका पनि समस्या भएको बताउँदै ती समस्या समाधानका लागि पालिकाबाट हुन सक्ने कुरा पालिकाबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

उहाँले साझा समस्या समाधानका लागि साझा एजेण्डा बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुहुँदै नगरप्रमुख खेलराज पाण्डेयले बजारको सौन्दर्यीकरण र विद्युतीय सुरक्षाका लागि समेत बुटवलको मुख्य राजमार्ग क्षेत्रमा भूमिगत विद्युतीकरणको व्यवस्था मिलाउन ऊर्जा मन्त्री खड्कासँग माग गर्नुभयो ।

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा बुटवल उद्योग वाणिज्य सङ्घले औद्योगिक प्रदर्शनी गरेको थियो । यो २४ औँ संस्करणको औद्योगिक व्यापार मेला हो ।  

औद्योगिक व्यापार मेला अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा यही पुसको १८ गतेसम्म सञ्चालन हुने छ ।

बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यावसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न अझ परिष्कृत रुपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले दुई ठूला दलको समीकरणमा सरकार बनेपछि स्थायित्व हुन्छ र लगानीको वातावरण बन्छ भन्ने आशा गरिए पनि अहिलेसम्म त्यस्तो वातावरण बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले देशमा लगानीको वातावरण नबन्दा युवाहरूको विदेश पलायन भइरहेको भन्दै त्यसलाई रोक्ने गरी सरकारले कदम चाल्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ, एमाले रुपन्देहीका अध्यक्ष यज्ञप्रसाद गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक टङ्कप्रसाद गैरे, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागी छन् । १६ दिनसम्म सञ्चालन गरिने मेलामा ५ लाख बढीले अवलोकन गर्ने र मेला भित्र १५ करोड बढीको कारोबार हुने अनुमान गरिएको बुटवल उद्योग वाणिज्य संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।

औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यवसायीकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटो मोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेका छन् । त्यसैगरी दुवई फिस टनेलसहितको बाल उद्यान रहेको छ । 

मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक साङ्गीतिक कार्यक्रम हुनेछन् ।

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, ब्युटी फियर, टिकटक लगायतका प्रतियोगिता गरिने छ । 

त्यसैगरी ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुती रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसाद उपसमितिका संयोजक दीपकप्रसाद चापागाईँले जानकारी गराउनुभयो । मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । त्यस्तै ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाइएको पनि संयोजक चापागाईँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button