पर्सा जिल्लाबाट ८० प्रतिशत सुर्ती उत्पादन

वीरगंज । पर्सा जिल्लाको ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाका किसानहरू अहिले सुर्ती खेती गर्न व्यस्त भएका छन् ।
सो क्षेत्रमा वर्षको दुई पटक सुर्ती खेती गरिन्छ र नगदेबालीको रूपमा रहेको यो खेतीप्रति यस क्षेत्रका किसानहरूको आकर्षण बढ्दै गएको छ ।
प्रतिकट्ठा सुर्ती खेतीमा रु चार हजार खर्च र १५ हजार आम्दानी हुने हुँदा किसानहरूको आकर्षण बढेको हो । एक कट्ठामा ९० किलो सुर्ती उत्पादन हुने गर्दछ । नेपालमा हुने सुर्ती खेती मध्ये पर्सा जिल्लाबाट ८० प्रतिशत उत्पादन हुने गरेको छ । सुर्ती खेती पर्सा, बारा, रौतहट, धनुषा, सिराहा र नवलपरासीसम्म हुने गर्दछ ।
यो क्षेत्रमा हुने सुर्ती खेतीलाई बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपालले खरिद गर्दै आएको छ । यो इलाकामा एचबी र बर्ली जातको सुर्ती खेती हुने गर्दछ र यसलाई सूर्य नेपालले खरिद गर्दै आएको छ । सूर्य नेपालले सुर्ती खेती गरेका किसानहरूलाई बीउ, मल, त्रिपाल र गोठ निर्माणको लागि निर्ब्याजी ऋण उपलब्ध गराउँदै आएको किसान छविलाल श्रेष्ठले बताउनु भयो ।
उत्पादित सुर्ती खरिद गर्दा सूर्य नेपालले किसानहरूलाई दिएको ऋण कट्टा गरी बाँकी रकम उपलब्ध गराउँछ । लगानीको समस्या नरहेको र उत्पादनपछि भुक्तानी सहजरूपमा पाउने हुँदा सुर्ती खेतीप्रतिको आकर्षण बढिरहेको हो । जङ्गली क्षेत्रसँग जोडिएको पर्सा जिल्लाका पालिकाहरूमा सुर्ती खेती हुँदै आएको छ । जङ्गली जनावरले सुर्ती खेतीलाई क्षति नपार्ने हुँदा यसको खेती गर्न किसानहरूले रुचाएका हुन् । अन्य खेती गर्दा जङ्गली जनावर, पशुपक्षीले बाली नष्ट गर्ने हुँदा किसानहरू सुर्ती खेतीप्रति आकर्षित भएको ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताउनुभयो ।
सुर्ती खेती वर्षमा वैशाख र असोज महिनामा सुरु हुने र छ महिनामा तयारी भएर बिक्रीसमेत भइसक्छ । पर्सा जिल्लामा मात्रै बर्ली जातको चार सय हेक्टर र एचबी जातको तीन सय हेक्टर जमिनमा बर्सेनि सुर्ती खेती हुने गरेको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्