मध्य तराईका पाँच जिल्लामा रासायनिक मलको अभाव, किसानहरु समस्यामा

वीरगंज । मध्य तराईका पर्सा, बारा, रौतहट लगायत मधेस प्रदेशका पाँच जिल्लामा गहुँ खेतीको समयमा रासायनिक मलको अभाव हुँदा किसानहरु समस्यामा परेका छन् ।
किसानहरूको मागेको अनुपातमा आपूर्ति न्यून भएकोले मलको अभाव भएको हो । कृषि सामग्री कम्पनी, वीरगञ्जका प्रमुख दुर्गा पाण्डेका अनुसार, नेपालमा बर्सेनि सबै प्रकारका मलको आपूर्ति लगभग चार लाख टन मात्र हुन्छ भने माग आठ लाख ५० हजार मेट्रिक टन रहेको छ । यसरी हेर्दा सरकारले मलको मागको ५० प्रतिशत हाराहारी मात्र आपूर्ति गर्दै आएको कारणले मुख्य कृषि सिजनमा मलको चरम अभाव हुने गरेको छ ।
नेपाल सरकारले आयात गर्ने कुल मलको २६.५ प्रतिशत मधेस प्रदेशका आठ जिल्लालाई प्रदान गरिन्छ । सुरुमा १३६ वटा स्थानीय तहलाई समानुपातिक रूपमा मल वितरण गरिन्छ भने केही मल बफर स्टकको रूपमा राखिन्छ । एक महिना अगाडि समानुपातिक रूपमा वितरण गरिसकेपछि अहिले बफर स्टकबाट मल वितरण भइरहेको छ । अहिले गहुँ, तोरी, दलहन लगायतका बालीनालीमा मलको अभाव तीव्र बनेको छ ।
पर्सा जिल्ला १४ पालिका मध्ये वीरगञ्ज महानगरपालिकाका किसानलाई १२९ टन युरिया, १०८ टन डिएपी प्रदान गरिएको छ भने पर्सागढी नगरपालिकाका किसानलाई ६७ टन युरिया, ५६ टन डिएपी, ठोरी गाउँपालिकाका किसानलाई ३९ टन युरिया, ३२ टन डिएपी, जगरनाथपुर गाउँपालिकाका किसानलाई ६८ टन युरिया, ५७ टन डिएपी,सखुवा प्रसौनी गाउँपालिकाका किसानलाई ५४ टन युरिया, ४५ टन डिएपी, बहुदरमाई नगरपालिकामा ४६ टन युरिया, ३९ टन डिएपी, पोखरिया नगरपालिकामा ४१ टन युरिया, ३९ टन डिएपी मल प्रदान गरिएको छ ।
त्यसैगरि कालिकामाई गाउँपालिकामा २० टन युरिया, १७ टन डिएपी,धोबिनी गाउँपालिकामा २८ टन युरिया, २३ टन डिएपी, छिपहरमाई गाउँपालिका: २९ टन युरिया, २५ टन डिएपी विन्ध्यवासिनी गाउँपालिकामा २५ टन युरिया, २१ टन डिएपी,गरी चालू आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म पर्सा जिल्लामा ८०० मेट्रिक टन डिएपी र १००० मेट्रिक टन युरिया गरी कुल १८०० मेट्रिक टन मल वितरण भइसकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।
त्यसैगरी मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाले पनि डिएपी २४० टन र युरिया ३०० टनको दरले प्राप्त गरेका छन् । सिराहा र सप्तरी जिल्लाले भने डिएपी ६००/६०० टन र युरिया १००/१०० टन पाएका छन् । आगामी योजनाअनुसार पर्सादेखि धनुषासम्मका जिल्लाले थप १३०/१३० टन डिएपी मल उपलब्ध गराउने तयारी भइरहेको कृषि सामग्री कम्पनीले जनाएको छ ।
मलको निरन्तर अभाव र आपूर्तिको असमानताका कारण किसानहरू खेतीपातीको समयमा मर्कामा परिरहेका छन् । सरकारले माग र आपूर्तिको अन्तर घटाउन थप योजना ल्याउनुपर्ने आवश्यकता किसानहरूले औँल्याएका छन् ।







प्रतिक्रिया राख्नुहोस्