समाचारकाे प्रभाव : विमानस्थलमा टेस्ट फ्लाइट हुँदै
सप्तरी । राजविराज विमानस्थलमा दैनिक दुईवटा उडानसम्बन्धी विषयको समाचार रेडियो नेपालबाट प्रसारण भएपछि त्यसको सकारात्मक प्रभाव हुने देखिएको छ । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे समक्ष असोज ५ गते एक प्रतिनिधि मण्डलले सो विषयमा गरेको कुराकानी रेडियो नेपालबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

राजविराज विमानस्थलबाट रात्रिकालीन उडानको लागि (आज) सोमबार बेलुका ५ बुद्ध एयरलाइन्सले टेस्ट फ्लाइट गर्दै छ ।विमानस्थलमा लगाइएका बत्तीहरूको समेत परिक्षण हुने र सफलता मिल्यो भने रात्रिकालीन फ्लाइटहरू नियमितरूपमा सञ्चालनमा आउने कुरा राजबिराज विमानस्थल कार्यालयका प्रमुख ध्रुवराज श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी यस फ्लाइटलाई स्वागत सहित उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे र मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि आउनुहुने भएको छ ।

असोज ५ गते मन्त्रालय निवासमै सप्तरीका प्रतिनिधि मण्डललाई मन्त्री पाण्डेले राजबिराज विमानस्थलमा दैनिक दुई उडान गर्न बुद्ध एयर कम्पनीसँग कुरा गर्ने बताउनुभएको थियो । ‘उडान थपे बुद्ध एयरलाई पनि व्यावसायिक फाइदा हुन्छ’ मन्त्री पाण्डेले भन्नुभयो, ‘त्यहीँ भएर बुद्ध एयरले पनि दुई वटा उडान भर्नेमा विश्वस्त छु ।’ मन्त्री पाण्डेले बताउनुभएको थियो ।
अहिले यो विमानस्थलबाट दैनिक एक मात्र उडान गर्दै आएको छ । मन्त्री पाण्डेले राजविराज विमानस्थलमा सामान चेकिङ गर्नेसहितका उपकरण उपलब्ध गराउन समेत पहल गर्ने बताउनुभएको थियो ।

सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवको नेतृत्वमा कांग्रेस जिल्ला सभापति रामदेव साह, सचिव सनत मण्डल, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण कुमार देव , कार्यसमिति सदस्य कृष्ण मण्डल सहितका व्यक्ति मन्त्री समक्ष दैनिक दुई उडान गराइदिन अनुरोध गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्