तपाईँ सुन्दै हुनुहुन्छः

गिरीबन्धु टी इस्टेट अगाडी कुकर बम राखेर आतङ्कित पार्ने थप दुईजना पक्राउ

झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतङ्कित पार्ने थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका–१४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका–७ कात्तिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलीप भट्टराई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा मङ्सिर २५ गते पक्राउ गरी बिहीबार झापा जिल्ला अदालतबाट ९ दिन म्याद मिलान गरी इलाका प्रहरी कार्यालय बिर्तामोडबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।

यसअघि मङ्सिरको दोस्रो साता घटना गराएको करिब अढाई महिनापछि दुई जना पक्राउ परेका थिए । पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला बस्ने ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका–६ शिवालय टोल बस्ने २० वर्षीय धिरज माझी रहेका छन् । राजकुमारलाई उर्लाबारी नगरपालिका–७ उर्लाबारी चोकबाट पक्राउ गरिएको थियो भने सोही दिन धिरज पथरीशनिश्चरे नगरपालिका–१ जातेरोड चोकबाट पक्राउ परेका थिए ।

घटनापश्चात् फरार रहेका उनीहरूलाई सूक्ष्म रुपमा अनुसन्धान गरी पक्राउ गरिएको डिएसपी चन्दले बताउनुभयो । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले जिल्ला अदालतबाट विस्फोटक पदार्थसम्बन्धी कसुर मा अनुसन्धान गरिरहेको चन्दले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button