तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकी डलर देखाई साढे छ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले अमेरिकी डलर देखाई प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ गाती घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–८ गणेश बस्ती डेरा गरी बस्ने ३७ वर्षीय विक्रम श्रेष्ठ र भक्तपुर सूर्यविनायक नगरपालिका–९ खत्रीटोल डेरा गरी बस्ने ५५ वर्षीय दिलबहादुर श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर चाँगुनारायण नगरपालिका–४ एकान्त ठाउँमा यही मङ्सिर १३ गते ओखलढुङ्गा लिखु गाउँपालिका–९ पोकली घर भएकी ४१ वर्षीया महिलालाई फोन तथा ह्वाट्सएपमार्फत अमेरिकी डलर सटही दर रेटभन्दा सस्तोमा उपलब्ध गराउने भनी प्रलोभन देखाइ रु छ लाख ५० हजार ठगी गरेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो ।”

उनीहरूको साथबाट प्रहरीले स्कुटर एक थान र मोबाइल चार थान समेत बरामद गरी अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button