तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी बल गण्डकी आदर्श कपको फाइनलमा

पोखरा । सशस्त्र प्रहरी बल गण्डकी कास्कीको लेखनाथमा जारी आदर्श कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लेखनाथको भण्डारढीक स्थित लेखनाथ रङ्गशालामा आज भएको खेलमा सशस्त्र प्रहरीले गोर्खा फुटबल क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

सशस्त्रका सुजन तामाङले खेलको ७१औँ मिनेटमा पहिलो गोल गरेका थिए । उनको गोल नै सशस्त्रको जितमा निर्णायक बन्यो । गोर्खाले भने पाएका अवसरहरू सदुपयोग गर्दै गोल गर्न नसक्दा पराजय बेहोर्नु परेको छ ।

आजको खेलमा म्यान अफ द म्याच अजित कुमार बिक बने । उनले नगद ५ हजारसहित मेडल हात पारेका छन् ।

यसैबीच शनिबार सशस्त्र प्रहरी बल गण्डकी र कास्की फुटबल संघ बीच फाइनल खेल हुने क्लबका अध्यक्ष पदम गुरुङले जानकारी दिए । कास्कीले बुधबार नै पेनाल्टी सुट आउटमा आयोजक क्लबलाई ४–३ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

गण्डकी प्रदेशबाट ८ समूहको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

विधागततर्फ सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

‘निरन्तरता हाम्रो प्रतिबद्धता, फुटबल खेलको विकास हाम्रो दृढता’ भन्ने मुल नाराका साथ मङ्सिर २२ देखी २९ गतेसम्म सञ्चालित प्रतियोगिताको मुख्य प्रायोजक शौर्य सिमेन्ट रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button