बाँके राष्ट्रिय निकुञ्जमा बाघ र आहारा प्रजातिको अनुगमन सुरु

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघको आहारा प्रजातिको अनुगमन कार्य सुरु भएको छ। मङ्सिर २५ गतेदेखि बाँके र बर्दिया दुवै राष्ट्रिय निकुञ्जमा डिएनए परीक्षण र क्यामेरा ट्र्यापिङ प्रविधिको प्रयोगमार्फत यो कार्य सुरु गरिएको हो। यो अनुगमन कार्यले बाघको सङ्ख्या, बसोबास क्षेत्र, र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी सङ्कलन गर्ने उद्देश्य राखेको छ।
बाँके राष्ट्रिय निकुञ्जलाई चार ब्लकमा विभाजन गरी दुई किलोमिटर क्षेत्रफलको एउटा ग्रिड बनाएर स्वचालित क्यामेरा राखिएको छ। क्यामेराको सहयोगले बाघको गतिविधि र दिशा सम्बन्धी तथ्याङ्क सङ्कलन गरिने छ। यस कार्यमा निकुञ्जका प्राविधिक कर्मचारी र नेपाली सेनालाई आवश्यक तालिम प्रदान गरिएको छ। बाँके निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीका अनुसार अनुगमन कार्यलाई अझ प्रभावकारी बनाउन १ सयभन्दा बढी स्वचालित क्यामेरा जङ्गलमा राखिएका छन्।

खडकबारस्थित हात्तीसार क्षेत्रमा वनदेवीको पूजा गरी अनुगमन औपचारिक रुपमा सुरु गरिएको हो। डिआइ परियोजनाअन्तर्गत जेडएसएल र एनटीएनसीले बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग सहकार्य गरी यो कार्यलाई अघि बढाएका छन्। अनुगमनका लागि खटिने प्राविधिक कर्मचारीहरूले ८० दिनसम्म जङ्गलमै बसेर काम गर्नेछन्।
यस प्रविधिको प्रयोगले बाघ र बाघको आहारा प्रजातिको संरक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। बाँके र बर्दियामा वार्षिक रूपमा हुने यो अनुगमनले बाघ संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।







प्रतिक्रिया राख्नुहोस्