चितवनमा राइनो कप महिला भलिबल प्रतियोगिता हुँदै
चितवन । चितवनमा राइनो कप खुला महिला भलिबल प्रतियोगिता पुस १२ गतेदेखि हुने भएको छ । हिमालय भलिबल क्लब भरतपुर १३ को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
पुस १२ देखि १४ गतेसम्म तीन दिन चल्ने प्रतियोगिताका खेलहरू हिमालय दण्डपाणी मावि भरतपुर १३ को मैदानमा हुनेछ । प्रतियोगितामा आठ टोली सहभागी हुने कार्यक्रम संयोजक रामहरि ढकालले जानकारी दिनुभयो । केही टिममा राष्ट्रिय खेलाडीहरू समेत रहनेछन् ।
सहभागी हुने सबै टोलीको टुङ्गो केही दिनमा लाग्ने ढकालले बताउनु भयो । प्रतियोगिताको विजेताले ट्रफीसहित ५५ हजार ५५५ तथा उपविजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलसम्म स्थान बनाउने थप दुई टोलीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट सेटर, स्पाईकर, सर्भर, लिबरो, र प्रशिक्षकले २–२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको कार्यक्रम संयोजक ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्