तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रिय कार्यसम्पादन बैठक: कोषाध्यक्षमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा अनुमोदन गरेको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रहेका श्रेष्ठलाई सभापति देउवाले यसअघि नै रिक्त कोषाध्यक्षमा मनोनीत गर्नुभएको थियो ।

यस्तै बैठकले गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि रिक्त प्रदेश सभा सदस्य पदमा निर्वाचन आयोगको निर्देशनअनुसार स्याङ्जाकी सुनिता थापालाई प्रस्ताव गरेर पठाउने विषय पनि अनुमोदन गरेको प्रवक्ता डा. महतले जानकारी दिनुभयो ।

बैठकमा नेपाली काँग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको जनाएको छ ।

प्रवक्ता डा. महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको बताउनुभयो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा पनि अनुदानको पहल गर्ने समझदारी अनुसार नै फ्रेमवर्कमा हस्ताक्षर भएको  चीन सरकारसँग यसअघि भएका अनुदानको प्रतिबद्धता कार्यान्वयन गरेर अघि बढ्नुपर्ने प्रवक्ता डा. महतले बताउनुभयो ।

यस्तै बैठकमा पार्टीका भ्रातृ सङ्गठनहरूको अधिवेशन अगामी चैतभित्र सम्पन्न गर्न निर्देशन दिएकोमा तरुण दल र किसान सङ्घको परिमार्जित विधानलाई समेत पास गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button