उजाडिए ओडार, वैकल्पिक मार्गको प्रयोगले पैदल यात्रु घटे

मुगु । छायानाँथ रारा नगरपालिका वडा न-१ मा पर्ने गमगाड खोलाको गुहेदुला ओडारसहित सुर्खेतदेखि गुगुको छाईल बगरसम्मका दर्जनौँ ओडार अहिले उजाडिएका छन्।
करिब दुई दशक अघिको समयमा लामा तथा खसान जातीका मानिसहरू बेलुका बास बस्न र दिउँसो आराम गर्न र बिहान खाना खानको लागी प्रयोग हुँदै आएका ओडारहरू अहिले सुनसान बनेका छन्।
सडक यातायातको विकासले मानिसहरू गाडी, मोटर साइकलको सहज पहुँच उपलब्ध हुँदा मानिसहरू पैदल यात्रामा भर पर्ने माल सामान ढुवानी गर्ने परम्परागत मान्यता हटेको छ

बाँकेको नेपालगन्ज , र सुर्खेत जिल्ला देखि मुगु सम्म सम्म मानिस तथा पशु चौपाया हिँड्ने बाटाहरू कतै भत्किँदै गएका छन् भने बटुवाले चहलपहल हुने परम्परागत ओडारहरू हाल उजाड र सुनसान जस्तै बनेका छन् ।
तराईका नेपालगन्ज र सुर्खेतबाट मालसामान ढुवानी गर्न र जुम्लाको सिंजाबाट धान खरिद गर्न खसान जातीका साथै विशेष गरि लामा जातीका मानिसहरू आफ्ना घाेडा-खच्चड, भेडा-बाख्रा, र झोवा सहित बाटो हिँड्ने क्रम अहिले व्यापक रूपमा घटेको छ।
सडक यातायातको विकासले वैकल्पिक मार्गहरू सजिलै उपलब्ध हुँदा मानिसहरू पैदल यात्रामा भर पर्ने परम्परागत अभ्यास त्याग्न थालेका छन्। विशेषगरी सुर्खेत देखि छायाँनाथ रारा नगरपालिकासम्मका दुर्गम लाग्ने बाटाहरूमा सडक सञ्जाल विस्तार भएपछि माल सामान हरू गाडी मार्फत ढुवानी गरिदा पुराना ओडार र पैदल मार्ग विस्थापन भएका छन् ।
जसले गर्दा गमगाड खोलाको गुहेदुला ओडारसहित अन्य दर्जनौँ ओडारहरूको महत्त्व घटाएको देखिन्छ। स्थानीय बासिन्दाका अनुसार, पहिले यी ओडारमा ठुलो मात्रामा मानिसहरू रात बिताउन आउँथे भने अहिले सडकले यो आवश्यकता पूर्ण रूपमा मेटाएको छ।
यातायातको यस सुधारले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको भए पनि परम्परागत सांस्कृतिक पक्ष भने कमजोर भएको छ। ओडारहरूको संरक्षण र इतिहासको जगेर्नाको विषयमा स्थानीय निकायले चासो देखाउनुपर्ने आवश्यकता रहेको छ।








प्रतिक्रिया राख्नुहोस्