तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को प्रभावकारिता बढाउन सांसद, संसद्का पदाधिकारी र कर्मचारी जिम्मेवार बन्नुपर्नेमा जोड

काठमाडौँ । संसद्को प्रभावकारिता बढाउनका लागि सांसद, संसद्का पदाधिकारी र कर्मचारीहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

संघीय संसद् सचिवालयमा आज आयोजना गरिएको ‘संघीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो कामप्रति सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् सेवालाई प्रभावकारी बनाउन यससँग जोडिएका सबै पक्षको भूमिका महत्वपूर्ण रहेको भन्दै संसद्को पुराना कानुन परिवर्तनको खाँचो औँल्याउनुभयो ।

सभामुख घिमिरेले कार्यपालिका र व्यवस्थापिकाले एक आपसका शक्ति सन्तुलनलाई ध्यान नदिने, एकले अर्कालाई छल्ने कुरा नगरी आपसमा परिपूरकका रुपमा अगाडी बढ्नुपर्नेमा जोड समेत दिनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसद्का पदाधिकारी र कर्मचारी सबैको सामूहिक प्रयत्नबाट संसद्का काम कारबाहीलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन सकिने बताउनुभयो ।

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले संसद्लाई प्रभावकारी बनाउन उठेका समस्या र समाधानका विषय पहिल्याई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसद्, कर्मचारी सबै आ–आफ्नो जबाफदेहिता र जिम्मेवारीप्रति प्रतिबद्ध भएर लाग्ने हो भने संसद्लाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

यस्तै संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले संघीय संसद्को प्रभावकारिता बढाउन संघीय संसद् सेवा आफैलाई प्रभावकारी बनाउन आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले सांसद राजनीतिज्ञ भएकाले उसको आफ्नै उद्देश्य र आकाङ्क्षा हुने भन्दै सांसदहरूलाई आफ्नो भूमिका निर्वाह गर्न निर्धारित साधन स्रोत उपलब्ध गराउने जिम्मेवारी संसद् सेवाका कर्मचारीहरूले पुरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रस्तुत गर्नुभएको कार्यपत्र प्रस्तुतिमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल र संविधान सभा सदस्य जनकराज जोशीले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button